रवि लामिछानेलाई तुरुन्त समात्न टेकु प्रहरीमा जाहेरी

रवि लामिछानेलाई तुरुन्त समात्न टेकु प्रहरीमा जाहेरी

पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गरी उनको राहदानी छानविन प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन परेको छ । 

रविविरुध्द सर्वोच्च अदालतमा रिट हालेर उनको सांसद र गृहमन्त्री पद खुस्काइदिएका समाजवादी केन्द्रका नेता युवराज पौडेल (सफल)ले गत मंगलबार जिल्ला प्रहरी परिसर, टेकुमा उजुरी हालेका हुन् । टेकु प्रहरीले दर्ता गरेको उक्त निवेदनमा निष्क्रिय भइसकेको नेपाली नागरिकताका आधारमा राहदानी बनाएका रविलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गरिएको छ । 

अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिएको प्रमाणित भइसकेकाले बिलम्ब नगरी उनलाई कानुनको दायरामा ल्याउन युवराजको माग छ । अन्यथा,दोषी उम्कन सक्ने निवेदनमा उल्लेख छ । 

लामिछानेले प्रचलित राहदानी ऐन, २०२४ र हाल प्रचलित राहदानी ऐन, २०७६ मा उल्लेखित झूठा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएको खुलस्त भइसकेको उनले बताएका छन् । राहदानी दुरुपयोगसम्बन्धी फौजदारी कसूरमा जाहेरी दर्ता भइसकेकाले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा (६) प्रमाण लोप वा नाश हुन नदिने र कसूर गर्ने व्यक्ति उम्कन नपाउने व्यवस्था रहेको पनि उनले स्मरण गराएका छन् । 

त्यस्तै, सोही संहिताको दफा (९) मा कसूरसंग सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सकिने र दफाको खण्डको (१) मा कसूरसंग सम्बन्धित कुनै व्यक्ति फेला परेमा वा कसूर गर्दागर्दैको अवस्था रहेमा निजलाई प्रहरी वा अनुसन्धान अधिकारीले पक्राउ गर्ने व्यवस्था छ । त्यसका लागि पहिचान खुल्ने विवरणसहित निवेदन दिनुपर्ने प्रावधान रहेकाले उनी प्रमाणसहित प्रहरी परिसर गएका हुन् । 

युवराजले कसूरदार रविलाई पक्राउ गरेर अनुसन्धान निचोडमा पुर्याउन भनेका छन् । त्यस्तै, आफ्नो मागबमोजिम अनुसन्धान अघि नबढेमा वा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको अपेहलना गरेमा विभागीय कारबाही वा कानुनी उपचारमा जाने उनको चेतावनी छ  । 

रविको राहदानी छनविन गर्न माग राख्दै गत माघ १० गते युवराजले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि उनले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा निवेदन दर्ता गराएका थिए ।

टिप्पणीहरू