रविलाई बुझाउन मार्सीसँग पैसा मागेको विषय संसदमा प्रवेश

रविलाई बुझाउन मार्सीसँग पैसा मागेको विषय संसदमा प्रवेश

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल बिचौलिया दुर्गा प्रसाईंबीच भएको घुस बार्गेनिङको अडियोको सत्यता छानबिन गर्न राष्ट्रियसभामा आवाज उठेको छ । 

राष्ट्रियसभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी हुन् । आज बसेको बैठकमा उनले अडियोको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरिन् । 

एउटा पार्टी विशेषले मात्र कारबाही गरेर नहुने भन्दै सांसद रावलले यसमाथि सरकारले नै छानबिन गर्नुपर्नेमा जोड दिइन् । ‘अहिले दुई करोडको कुरा आइरहेको छ । यसमाथि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘एउटा पार्टी विशेषले मात्रै कारबाही गर्ने कुरामात्रै होइन, सरकारले पनि छानबिन गर्नुपर्छ र कारबाही गर्नुपर्छ ।’ 

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापतिलाई दुई करोड बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग पैसा मागेको कुराकानीको अडियो हिजो सामाजिक सञ्जालबाट बाहिरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बनको कारवाही गर्दै स्पष्टीकरण सोधेको छ ।

टिप्पणीहरू