रुसकाे राजधानी मस्काेमा रासायनिक मल र गहुँको चर्चा
रुसको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोसँग भेटवार्ता गर्नुभएको छ । भेटमा रासायनिक मल र गहुँबारे चर्चा भएको बताइएको छ ।
उपप्रधानमन्त्री चेर्निसेन्कोले रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी अध्यक्ष तिमिल्सिनालाई गराएका हुन् । उनले जिटुजी प्रक्रियाबाट मल र गहुँ उपलब्ध गराउन रुस तयार रहेको जानकारी दिएका हुन् ।
भेटमा नेपाल र रुसबीच सिधा हवाई सेवालगायत विभिन्न भौतिक संरचना निर्माण र रुसमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था र थप सुविधाको बारेमा पनि छलफल भएको बताइएको छ ।

रुसी पक्षले भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकोप्टर र मोटरसाइकल उपलब्ध गराउने बारेमा लामो छलफल भएको जानकारी दिएको छ । अध्यक्ष तिमिल्सिना त्यहाँको माथिल्लो सदनका अध्यक्षको निम्तोमा रुस भ्रमणको क्रममा हाल मस्कोमा हुनुहुन्छ ।
यसैबीच अध्यक्ष तिमिल्सिनाले मस्कोमा रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनसँग पनि भेटवार्ता गर्नुभएको छ । अध्यक्ष तिमिल्सिना र अध्यक्ष भोलोडिनका बीच आज भेटवार्ता भएको हो ।
टिप्पणीहरू