भ्रष्ट हाकिम बन्ने कि प्रष्ट कारिन्दा ?

भ्रष्ट हाकिम बन्ने कि प्रष्ट कारिन्दा ?

हाकिम भनेपछि भुँडीवाल, बंगुरजस्तै मोटो, चिल्लो पिरो नै हुनुपर्छ भन्नु सामन्ती चिन्तन नै हो । यस्तो चिन्तनधारीलाई एकपटक आइन्स्टाइनले दिएको जवाफ सुनाउन मन लाग्यो । एउटाले सोधेछ, तपाईं यस्तो लोकप्रिय वैज्ञानिक भएर पनि किन दारी काट्नुहुन्न ? किन कपडामा कहिल्यै इस्तिरी लगाउनुहुन्न ? आइन्स्टाइनलाई जङ चलेछ । जवाफ दिनुभएछ– यो मेरो समस्या होइन, तिम्रो दृष्टिकोणको समस्या हो । प्रश्नकर्ता नाजवाफ भएर फर्केछ । 

सानामा मानिसले भुँडीवाल सुब्बा, राजाको सिन्दूर पहिरिएको खरदार भनेको सुन्दा तिनीहरू खतरै मानिस होलान् भन्ने लाग्थ्यो । त्यस्तो लागे पनि जिन्दगीमा जागिर नै खाउँला भन्ने सोच पटक्कै थिएन । तारादेवीले गाएझैँ कहाँ सोचेजस्तो हुँदोरहेछ र जीवन ? रूची एकातिर भए पनि जागिरमा पसेर फसेपछि सितिमिति निस्कन नसकिनेरहेछ । त्यो त दलदले हिलोमा गडेको गोडाजस्तै रहेछ, जति निकाल्न खोजे पनि गडेको गड्यै गर्ने । 

यसपालि संयोग पनि कस्तो परेछ भने, केही वर्षदेखि ‘पाइपलाइन’ मा राखेको यही विषय कोर्ने विचार गर्दै थिएँ । गत शुक्रबार प्रेस काउन्सिल नेपालमा एक्कासी कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम जुरेछ । सार्वजनिक सेवा प्रवाह सम्बन्धमा आफैँले अनायासै कुरा राख्नुपर्ने भयो । यस्तै विषयमा लेख्न लागेको जानकारीसहित सार्वजनिक सेवा प्रवाहमा प्रभाव पार्ने प्रवृत्तिबारे केही बुँदा राखेपछि वर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले पनि गम्भीर चासो राखेर केही सुझाव दिनुभयो । 

सार्वजनिक सेवा प्रवाह गर्नु भनेको देश र जनताको हितमा कार्य सम्पादन गर्नु हो । जनताको करबाट तलब भत्ता खाएपछि जनताप्रति नै उत्तरदायी र जवाफदेही भएर इमान्दारीपूर्वक सेवा दिनु हो । प्रत्येक सार्वजनिक निकायमा कार्यरत मूल नेतृत्वदेखि सबैभन्दा न्यून स्तरको कर्मचारीले यस कुरामा ध्यान दिनुपर्छ । तर हाम्रो निजामती या अन्य प्रशासन जनताले चाहेजस्तो छैन । यही भएर यो क्षेत्र बारम्बार राजनीतिक नेतृत्वबाट आलोचित हुँदै आएको छ भने नागरिकले धेरैजसो अवस्थामा आक्रोश पोख्ने, घृणा गर्ने गर्दै आएका छन् । तथापि हाम्रो कर्मचारीतन्त्र र सबै प्रवाह सोचेजस्तो नहुनुमा विभिन्न तत्वहरूले भूमिका खेलिरहेको देखिन्छ ।

एउटै कार्यालयमा काम गर्ने माथिल्लाे तह र अन्य तहकाे व्यक्तिबीच कार्यसम्पादन, खानपान, विचार, भवनाका कारण अत्मीय सम्बन्ध बनेकाे हुन सक्छ तर यस्ताे सम्बनधलाई कार्यालयमा प्रर्दशन गर्न हुँदैन। 

एकातिर हाम्रो कर्मचारीतन्त्र परम्परागत सोपान प्रणालीमा नै चल्दै आएको छ भने अर्कोतिर राजनीतिक नेतृत्वले सरकारमा गएर कर्मचारीलाई खल्बल्याउन सक्नुलाई नै ठूलो काम सुधार ठान्ने गरेको छ । जहिले पनि जुनसुकै सरकार फेरिनासाथ जागिर खाएर राजनीतिक खिचातानीमा रमाउने र यही प्रवृत्ति समाउने कर्मचारी भएसम्म अनि ऐन, नियम, कानुन विपरीत कार्य गर्न दबाब दिने र नमाने कर्मचारीलाई नै गोटी बनाइने राजनीतिक संस्कार रहेसम्म कर्मचारीतन्त्रमा सोचेको सुधार आउने र सबै कर्मचारी राजनीतिक दल, मन्त्री, संगठनको नेतृत्वप्रति सकारात्मक बन्न सक्ने देखिँदैन । यस्तो अवस्था रहँदासम्म सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता कायम हुन सक्दैन । त्यसो त सार्वजनिक सेवा प्रवाहमा स्वयं सार्वजनिक सेवा प्रदायक (कर्मचारी)र उक्त संगठनको कार्य–व्यवहारले पनि गम्भीर असर पारेको हुन्छ । 

सार्वजनिक प्रशासन र नयाँ सार्वजनिक प्रशासनका विज्ञहरूले सार्वजनिक प्रशासकमा इमानदारी, सही नेतृत्व कला, सदाचार, पारदर्शिता, खुलापन, जवाफदेहिता, निष्पक्षता, कार्यकुशलता, व्यक्तिगत स्वार्थहीनता, जिम्मेवारीबोध, कानुनीपन, समन्याय जस्ता गुण हुनुपर्नेमा जोड दिएका छन् । यस्तै मूल नेतृत्व पक्षपातरहित भई सोपान प्रणालीअनुसार चेन अफ कमाण्डमा काम गर्ने/गराउने, कामको आधारमा सही मूल्यांकन गर्ने, कामअनुसार सबैलाई समान व्यवहार गर्नसक्ने, अवसरहरू, सेवा–सुविधामा समानता कायम गर्ने, यो वा त्यो लोभ, लालच, फाइदाबाट प्रभावित नहुने, राजनीतिक दबाबमा नपर्ने वा ऐन, कानुनमा अडिग रहने, बन्दकोठा वा कार्यालय बाहिर भन्दा सामूहिक छलफलमा जोड दिने, हुनुपर्दछ । मूल नेतृत्वमा उल्लिखित र अन्य गुण, चरित्र भएन भने यसको नकारात्मक असर संगठनको तल्लो तहसम्म पुग्दछ । यसले संगठनको सेवा प्रवाहमा चुस्तता दुरुस्तता ल्याउनुको सट्टा गत्यारोध उत्पन्न गर्दछ । यस्ता व्यवहारहरू भएनन् भने कर्मचारीको मनोबल गिर्छ । चेन अफ कमाण्डअनुसार कार्य विभाजन भएन भने कार्यालयमा कर्मचारीको ‘इनर्जी’ आउँदैन । सबै कर्मचारीमा इनर्जी पैदा भएन भने कार्यालयमा नै ‘सिनर्जी’ उत्पन्न हुँदैन । त्यस्तो सिनर्जी उत्पादन भएन भने राम्ररी सेवा प्रवाह हुन सक्दैन । त्यसैले नेतृत्वले जहिले पनि चेन अफ कमाण्डमा काम गर्ने, गराउने कुरामा ध्यान पु¥याउनुपर्छ । तर, नेपालका धेरै कार्यालयमा चेन अफ कमाण्डभन्दा गुलामी र सलामीले ठाउँ पाउँदा सक्षम र इमान्दार कर्मचारी निरुत्साहित भएर पाखा लाग्ने गर्दै आएको देखिन्छ । यस्तै एउटै कार्यालयको सेवा, सुविधा, अवसरमा विभेद भयो भने असन्तुष्टि बढ्दै जान्छ । जसले गर्दा कार्यालयको ‘स्ट्रेन्थ’ मर्छ । 

कर्मचारीको कार्यक्षमता, आचरण, स्वभाव, व्यवहार, नैतिकता, इमानदारी, लगनशीलता, सोच, विचार, धारणा, बुझाइ, अध्ययन, आस्था, अभिप्रेरणा, आग्रह, पूर्वाग्रह, अनुग्रह, सम्बन्ध आदिले सार्वजनिक सेवा प्रवाहमा प्रभाव पार्दछ । आफूलाई शासक र सेवाग्राहीलाई शासित ठान्ने चिन्तन सामन्ती चिन्तन हो । नागरिकको करबाट तलब, सेवा, सुविधा लिएकाले आफू नागरिकप्रति ऐन, कानुनबमोजिम उत्तरदायी हुनुपर्छ भन्ने बुझाइ नभएसम्म सेवा प्रभावकारी हुन सक्दैन । तथापि सेवाग्राहीसँग साह्रै टाढा र नजिकको सम्बन्ध नराखी सन्तुलित व्यवहार गर्नुपर्छ । अर्थात् तटस्थताको नीति अवलम्बन गर्नुपर्छ । कर्मचारीको वास्तविक र पहिलो चेन अफ कमाण्ड ऐन, नियम, कानुन हो । कुनै दबाब वा प्रलोभनमा परेर भावनात्मक रूपमा कार्य गर्नै हुँदैन । भ्रष्ट, लोभी हाकिम बन्नुहुँदैन, बरू प्रष्ट कारिन्दा बन्नुपर्छ । एउटै कार्यालयमा काम गर्ने माथिल्लो तह र अन्य तहको व्यक्ति व्यक्तिबीच कार्यसम्पादन, खानपान, विचार, भावनाका कारण आत्मीय वा नजिकको सम्बन्ध बनेको हुन सक्छ तर यस्तो व्यक्तिगत सम्बन्धलाई कार्यालयमा प्रदर्शन गर्न हुँदैन ।

यसो गर्दा अरू कर्मचारीको मनोबल घट्न, उत्साह मर्न सक्छ । कार्यालयको वातावरण, आन्तरिक सूचना प्रवाह, अवसरमा असमानता, कर्मचारीबीचकै मनमुटाव र असहयोग, चाकडी, चुप्लुसी, चुक्ली, मदिरापान, कार्य बोझ, सरूवा–बढुवा, वृत्ति विकासमा ढिलासुस्ती, पदसोपानमुखी संगठन संरचना, तालिम– पुनर्ताजगी तालिम, प्रोत्साहन भत्ता, क्षमता र सिप भन्दा फरक जिम्मेवारी, सेवाग्राहीको बुझाइ र चाहना आदिका कारण कार्यसम्पादन गर्दा तनाव उत्पन्न हुन्छ । तैपनि कुशल कर्मचारीले यस्ता पक्षलाई पन्छाएर मुस्कान सेवा दिनुपर्छ । मूल नेतृत्वले सम्पूर्ण कर्मचारीको आत्मसम्मानको ख्याल गर्दै सही नेतृत्व प्रदान गर्न सकेमा र तलको नेतृत्वले हैसियत र जिम्मेवारीअनुसार संघीय शासन व्यवस्थाको समेत ख्याल गरी सहयोगीको भूमिका खेल्न सकेमा पक्कै पनि सार्वजनिक सेवा प्रवाह गुणात्मक हुन सक्छ ।

(जनआस्था साप्ताहिकबाट साभार)

 

टिप्पणीहरू