कमिसनकै निम्ति बसधनी र हेडसरबीच चोचोमोचो

कमिसनकै निम्ति बसधनी र हेडसरबीच चोचोमोचो

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका २ स्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बसबाट समेत कमिसन लिने गरेको पाइएको छ । विद्यालका विद्यार्थी बोक्ने बसधनीसँग मिलेर उनले कमिसन लिने गरेको रहस्य खुलेको बताइन्छ । 

सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले विद्यार्थीहरुबाट बस भाडाको नाममा लिने गरेको शुल्कबाट कमिसन बुझ्ने गरेको स्रोतले बतायो । 

चालु शैक्षिक सत्रका लागि दैनिक छ हजार रुपैयाँमा बस भाडा सम्झौता भएको छ । त्यसबाट उनले दैनिक पाँच सय रुपैयाँ आफूले लिने गरेका हुन् ।

अघिल्लो शैक्षिक सत्रमा दैनिक पाँच हजार रुपैयाँमा बस भाडा सम्झौता भएको थियो । त्यतिबेला पनि उनले दैनिक पाँच सय रुपैयाँ उठाएको अडियो सार्वजनिक भएको थियो । 

प्रधानाध्यापक विष्टले आफ्नो तलबबाहेक मासिक १५ हजार रुपैयाँ बस भाडामार्फत् कमाउने गरेको एक जना शिक्षकको आरोप छ विद्यालयमा अनियमितता बढेको भन्दै अभिभावकहरुले यसअघि विरोध जनाएका थिए । उनीहरु यसअघि दुई पटक नगरपालिकाको कार्यालयमा ‘डेलिगेसन’ गएका थिए । बस सञ्चालनका लागि नगरपालिकाले वडामार्फत् विद्यालयलाई अघिल्लो वर्ष पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।  

त्यस्तै, विद्यालयले विद्यार्थीहरुबाट सात लाख ५० हजार रुपैयाँ उठाएको थियो । दुई सय ५० विद्यार्थीबाट वार्षिक तीन हजार रुपैयाँका दरले रकम उठाएको पाइन्छ । 

प्रधानाध्यापकले मासिक १५ हजारको दरले एक वर्षमा एक लाख ८० हजार बढी रकम बुझिसकेको देखिन्छ । 

यद्यपि, प्रधानाध्यापक विष्टले आफूमाथि लागेको आरोपलाई अस्वीकार गरेका छन् । नियमानुसार वडा कार्यालय, विद्यालय र बस धनीसँग सम्झौता गरेर चेकमार्फत् भुक्तानी दिने गरेको उनको दाबी छ ।

टिप्पणीहरू