विद्यार्थी संगठनहरुको एउटै स्वर, ‘सामुदायिक विद्यालयको मनोमानी सहदैनौं’

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित सामुदायिक विद्यालयले जथाभावी शुल्क लिएको विरोधमा विद्यार्थीहरु संघर्षमा उत्रिएको छन् ।
माध्यमिक तहसम्मको निःशुल्क शिक्षा नीतिलाई सामुदायिक विद्यालयहरुले अटेर गरेर मनलाग्दी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, एमालेनिकट अनेरास्ववियु, एकीकृत समाजवादीको अनेरास्ववियू र माओवादी केन्द्रको (अखिल क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी जेठ २१ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे ।
जसअनुसार जेठ २१ गते जिल्लाका सम्पूर्ण नगरपालिकाको कार्यालयअगाडि धर्ना दिने, जेठ २२ गते नगरशिक्षाको कार्यालयमा तालाबन्दी गर्ने जनाइएको छ । त्यसपछि पनि आफ्ना माग बेवास्ता गरिए कडाभन्दा कडा संघर्षका कार्यक्रम ल्याउने विद्यार्थी संगठनको चेतावनी छ ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकले राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था रहेको स्मरण गराउँदै विज्ञप्तिमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको निर्देशनसमेत विद्यालयहरुले नमानेकाले आन्दोलन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
ईकाइले गत वैशाख २७ गते जिल्लाका सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै विद्यार्थी भर्ना निःशुल्क गर्न र विपन्न, गरिब, दलित, सीमान्तकृत र पिछडिएका विद्यार्थीलाई पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्न निर्देशन दिएको थियो ।
त्यस्तै, विद्यार्थीहरुलाई कुनै पनि आर्थिक व्यवभार नपर्नेगरी पठनपाठनको व्यवस्था गर्न र नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र लागु गर्न भनिएको थियो । तर, सामुदायिक विद्यालयहरुले ईकाइको निर्देशन नमानेको विद्यार्थी संगठनहरुको आरोप छ ।
टिप्पणीहरू