नयाँ विश्वविद्यालयको माग गर्नेलाई मुख्यमन्त्रीको मौखिक आश्वासन

नयाँ विश्वविद्यालयको माग गर्नेलाई मुख्यमन्त्रीको मौखिक आश्वासन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइनुपर्ने धारणा राखेका छन् । उनले यसको निम्ति आफुले निरन्तर पहल गरिरहेको बताएका छन् ।

मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटले उल्झन देखाए पनि प्रदेश सरकार राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विश्वविधेयक चालु अधिवेशनमा नै प्रस्तुत गर्ने भनी उल्लेख भएकोमा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेकोप्रति सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण छ ।’ 

यस विषयमा नेपाल सरकारका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर संवाद र सम्पर्क गरिरहेको मुख्यमन्त्रीको भनाई छ । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना र सरकारको पूर्ण निर्णयबमोजिम शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापना गर्न आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने विश्वास मिलेको मुख्यमन्त्री शाहले विश्वस्त तुल्याएका हुन् ।

गत माघ २९ गतेको क्याबिनेट बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले सय शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि अहिले आन्दोलन भएको हो ।

टिप्पणीहरू