भूम्या पूजाको दिन लुम्बिनीका दुई जिल्लामा सार्वजनिक बिदा

भूम्या पूजाको दिन लुम्बिनीका दुई जिल्लामा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले भूम्या पूजाको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले रोल्पा र रुकुम पूर्वमा मनाइने यस पर्वको उपलक्ष्यमा ति दुई जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले आज सूचना जारी गर्दै प्रदेश सरकार, मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार बिदा दिइएको जानकारी गराएको छ । 

‘भूम्या पूजाको अवसरमा रोल्पा र रुकुम पूर्व जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएकोमा भूम्या पूजा यही असार १ गते पर्ने भएकाले उक्त दिन रोल्पा र रुकुम पूर्व जिल्लाका सम्बन्धित समुदायलाई बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ । 

भूम्या पर्व मगर समुदायले मनाउने एउटा महत्वपूर्ण चाडमा पर्दछ । स्थानीय सत्ताको अनुमतिले बुकीमा पुगेर युवायुवतीले ल्याएका रङ्गीविरङ्गी फूलहरु भोलि बिहान घरघरमा भित्र्याएपछि यो पर्व शुरु हुन्छ । 

यस पर्वलाई नोकोबाङ्गे, भूमे, भूमिजस्ता नामले पनि चिनिन्छ । पर्वको नाम छुट्टाछुट्टै भएपनि यसको उद्धेश्य भूमिको पूजा गर्नु हो ।

टिप्पणीहरू