क्रिश्चियन धर्म मान्नेको संख्या ह्वात्तै माथि

क्रिश्चियन धर्म मान्नेको संख्या ह्वात्तै माथि

जनगणना २०७८अनुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल जनसंख्यामा धर्म र जातअनुसारको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्लामा बसोबास गर्ने नागरिकले आठ  वटा धर्म मान्ने गरेको देखिन्छ । सबैभन्दा धेरै हिन्दू र सबैभन्दा कम सिख धर्म मान्ने नागरिक देखिएका छन् । धर्मनिरपेक्ष मुलुक भएपछि अन्य धर्म मान्नेहरूको संख्या जति बृद्धि हुने अनुमान थियो जिल्लामा त्यस्तो पाइन्न । 

कूल जनसंख्या ३ लाख ६४ हजार ३९ मध्ये शिख धर्म मान्ने बनेपा नगरपालिकामा दुई जना मात्रै छन् । हिन्दू धर्म मान्नेहरू भने सबैभन्दा धेरै २ लाख ३० हजार ४ सय ६० जना भेटिए । नयाँ धर्म बोन मान्ने पनि छन् । दोश्रोमा बौद्ध धर्म मान्नेहरू छन् । १ लाख २३ हजार ३ सय ७१ जनाले बौद्ध धर्म मान्ने गरेको तथ्यांक छ । तेश्रोमा इसाई धर्म मान्नेहरूको संख्या छ । ७ हजार ६ सय ६४ जनाले क्रिश्चियन ईसाई धर्म मान्दा ६ सय ८१ जनाले इस्लाम, ५ सय ९४ जनाले किराँत, १ हजार २ सय ५६ जनाले प्रकृति र ११ जनाले बोन धर्म मान्ने गरेका छन् । जिल्लामा जैन र बहाई धर्म मान्नेहरूको संंख्या छैन ।

२०६८ सालको जनगणनाअनुसार ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या हुँदा हरेक धर्म मान्नेको संख्या धेरै थियो । ईसाई धर्म मान्नेबाहेक अन्य धर्म मान्नेहरू प्रतिशतका आधारमा कम भएका छन् ।काभ्रेमा ६१ जातका नागरिक रहेको पाइएको छ । २०६८ सालमा ६० जातका नागरिक थिए । सबैभन्दा धेरै तामाङ समुदायका १ लाख २२ हजार ९ सय ३० जना छन् । जसमा पुरुष ५९ हजार ५ सय १५ र महिला ६३ हजार ४ सय १५ छन् । ब्राह्मण ७३ हजार ३ सय ४५, क्षेत्री ४९ हजार ४ सय १५ छन् । नेवार समुदायका ४८ हजार ८ सय २७ छन् भने मगर १४ हजार ४ सय ५६ जना छन् । थारु ६ सय ११, विश्वकर्मा ९ हजार ४ सय २, मुसलमान ३ सय ५७, यादव २ सय ६०, गुरुङ १ हजार २ सय २२, राई २ हजार ३८ छन् । लोपोन्मुख माझी, पहरीको संख्या बढेको छ । सबैभन्दा कम बराई १२, याख्खा १२, केही नखुलाउने १२ जना छन् । २०५८ र २०६८ मा एउटा थरबाट गणना भएर २०७८ मा केही थर परिवर्तन भएकाले केही नयाँ थपिएको र केही पुरानो जातमा खाली देखिएको तथ्यांक कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले बताउनुभयो । 

उता, मुलुक धर्मनिरपेक्ष भएसँगै नेपालमा धर्म परिवर्तन गर्नेहरूको संख्या बढिरहेको छ । विशेषगरी संविधानले नै धर्मनिरपेक्षताको व्यवस्था गरेपछि गाउँगाउँमा क्रिश्चियन धर्म मान्नेहरू खुल्न थालेका छन् । महाभारत गाउँपालिकास्थित गोकुलेमा दुई वटा विश्वासी चर्च छन् । बिलिभर्स इष्टर्न चर्च गोकुले १ मा स्थापना भएको डेढ दशक भइसकेको छ । उक्त चर्चमा प्रत्येक शनिबार १०.३० बजे आराधना समय तोकिएको छ । त्यहाँ गाउँभरिका ६५ भन्दा धेरै नागरिक सहभागी हुन्छन् ।

मकवानपुर हुँदै गोकुले आइपुगेका केही विश्वासीले गोकुलेमा आएर चर्च र त्यसमा सहभागी हुँदा हुने विश्वास र परिवर्तनबारे जानकारी गराएका थिए । सोही स्थानमा केही व्यक्ति लामो समय बिरामी परेकोमा अस्पताल, धामी झाँक्रीको माध्यमबाट लामो समय उपचार हुँदा पनि निको हुन सकेन । माया मारेर घर फर्काएका बिरामीहरूलाई जब क्रिश्चियन धर्मअनुसार प्रार्थना गराइयो, विस्तारै बिरामी निको हुन थाले । घरको एक जनामा भएको उक्त समस्या विस्तारै अरुमा देखियो । अस्पताल लैजाँदा ठीक भएन । चर्चमा जाँदा ठीक भयो । त्यही आधारमा बिलिभर्स इष्टर्न चर्च स्थापना भयो । केही व्यक्तिलाई छिमेकी देश भारतसम्म पुर्‍याएर त्यससम्बन्धी अध्ययन गराइयो । त्यही आधारमा विश्वासीबारे स्थानीयलाई बुझाउन सक्ने व्यक्तिलाई चर्चको प्रमुख बनाइयो । विस्तारै विस्तारै बढिरहेका विश्वासीको संख्या अहिले गोकुलेको एउटा टोलमा मात्रै ६५ भन्दा धेरै छ । स्थानीय शिक्षकसमेत रहनुभएका मोहनदास श्रेष्ठले धर्म परिवर्तनभन्दा पनि विश्वासी बढिरहेको बताउनुभयो । 

गोकुलेमा नै अर्काे संस्था पिता परमेश्वर स्थापना भएको छ । हरेक शनिबार उक्त संस्थामा पनि नागरिक जम्मा भएर प्रार्थना गर्छन् । भवन पनि बनिरहेको छ । उक्त संस्थामा आबद्ध व्यक्ति गाउँ गाउँमा विश्वास बढाउँदै हिँडिरहेका छन् । भूकम्प र कोरोनाको महामारी तथा समुदायमा हुने विभिन्न विपदमा उक्त संस्थाले परोपकारी कार्य गर्छ । एउटै घरमा विश्वासी र अन्य धर्म मान्ने व्यक्ति पनि हुनुहुन्छ । समुदाय र टोलका नागरिकले फरक धर्म माने पनि विभेद छैन । बाल विवाह रोक्न, कुरीति र कुसंस्कार हटाउन चर्च र पिता परमेश्वरलगायत संस्थाले अगुवाइ गरेका छन् । रेबिजविरुद्ध होस् वा अन्य विषयमा नागरिकलाई सचेत गराइएको शिक्षक मोहनदास श्रेष्ठले बताउनुभयो । पछिल्लो समय हरेक क्षेत्रका युवा पुस्ता धर्म परिवर्तनमा सक्रिय हुन थालेका छन् । महाभारत गाउँपालिका–३ को फोक्सिङटारमा पनि सिर्जना चर्च निर्माण भएको छ । 

टिप्पणीहरू