पढाउन छाडेर गुरुआमा अमेरिका प्रस्थान

पढाउन छाडेर गुरुआमा अमेरिका प्रस्थान

पर्वतको कुश्मा नगरपालिका–१३ खौला लाँकुरीस्थित माध्यमिक विद्यालयकी एक राहत शिक्षिका अनुमतिबेगर विदेश पुगेको पाइएको छ । श्रीमान् जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख रहेको फाइदा उठाउँदै उनी अमेरिका घुमेर फर्किएकी हुन् । लामो समयदेखि कक्षा १० सम्मका विद्यार्थीलाई नेपाली अध्यापन गराउँदै आएकी हिराकुमारी शर्माले विदेश जाँदाको समेत तलबलगायतका सेवा–सुविधा लिएको खुलेको छ । यसबारे सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा कार्यालयमा गत जेठ २१ गते उजुरी हालेको छ । 

वडाध्यक्ष तेजप्रसाद चपाईंलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘१२–१५ वर्षदेखि अध्यापन गराउँदै आउनुभएकी शिक्षिका हिराकुमारी केही वर्षअगाडि नेपाल सरकारको अनुमतिबिना अमेरिका गएको र सो समयमा सरकारी सबै सुविधा लिएको हुँदा हाम्रो ध्यानाकर्षण भएको छ । विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसंग समन्वय गरी सत्यतथ्य बाहिर ल्याओस् ।’

रास्वपाले उनलाई कडाभन्दा कडा कारबाही मागसमेत गरेको छ । उजुरी हालेको सात दिन बितिसक्दा पनि वडाध्यक्षले छानबिनतर्फ चासो नदेखाएको रास्वपा जिल्ला सभापति मनोज शर्माको आरोप छ । सामुदायिक विद्यालयमा पढाउने राहत शिक्षक जागिर छोडेर मात्र विदेश जान मिल्ने बताउँदै उनले भने, ‘उहाँले अमेरिकाबाट आएर फेरि पढाउन थालिसक्नुभएको छ । तर, नियमले त्यो दिँदैनन् ।’

श्रीमान् उद्धिमराज पौडेल इकाई प्रमुख भएकाले मनोमानी चलाउँदै आएको स्रोतको दाबी छ । 

शिक्षा नियमावली, २०५९ को परिच्छेद–१९ मा शिक्षकले पाउने बिदासम्बन्धी व्यवस्थाबारे उल्लेख छ । सो परिच्छेदको दफा १०६ को उपदफा ९ मा भनिएको छ, ‘स्थायी सेवामा पाँच वर्ष पुगेका शिक्षकलाई अध्यापनसम्बन्धी विषयमा उच्च अध्ययनका लागि अध्ययन बिदा दिन सकिनेछ । ’

उक्त परिच्छेदमा राहत शिक्षकले विदेश भ्रमणका लागि बिदा पाउनेसम्बन्धी कुनै प्रावधान उल्लेख छैन । उनले विद्यालयमा आफू बिरामी भएको निवेदन पेश गरेर छुट्टी लिएको प्रधानाध्यापक मीना भण्डारीले बताइन् । 

उनका अनुसार यो २०७५ साल कात्तिकको कुरा हो । शिक्षिका शर्मा त्यतिबेला ६६ दिन बिदामा बसेको उनले जानकारी दिइन् । यद्यपि, हेड मिसले उनी अमेरिका गएकोबारे आफूलाई केही जानकारी नभएको दाबी गरेकी छन् । 

यता, विद्यालयका अर्का एक सिनियर शिक्षक ठाकुर पौडेलले पनि उनी बिरामी बिदा मागेर केही महिना कार्यालय नआएको जानकारी दिए । शिक्षिका शर्माले अमेरिका भ्रमणबारे कसैलाई जानकारी नगराएको उनी बताउँछन् । 

यस विषयमा बुझ्न पटकपटक सम्पर्क गर्दा पनि शर्माले फोन उठाइनन् । वडाध्यक्ष तेजप्रसाद चपाईंले आफू बाहिर रहेकाले छानबिन अघि बढाउन नसकेको जनाए । उनले वडा कार्यालय पुग्नेबित्तिकै विद्यालयमा पत्र पठाएर सबै विवरण मगाउने प्रतिबद्धता जनाएका छन् । शिक्षिका शर्माले विदेश भ्रमणमा रहँदा तलबभत्तालगायत अन्य सबै सेवासुविधा लिएको कुश्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु तिवारीले बताए । 

‘उहाँले सञ्चित बिदाबाट कटौती हुनेगरी बिदा माग्नुभएको थियो । बिरामी बिदा भनेपछि दिनैप¥यो । उहाँ त्यो अवधिमा कहाँ जानुभयो ? के गर्नुभयो ? हामीलाई थाहा भएन् । बिरामी भएको भनी बिदा माग गरेपछि तलब काट्ने कुरा रहेन । हामीले उहाँले पाउनुपर्ने तलब, सेवासुविधा दिएका थियौं । यो धेरै वर्षअगाडिको कुरा हो, त्यसैले अहिले उछाल्न जरुरी छैन,’ उनले भने । 

विद्यालयमा राजनीति बबाल

कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा ‘जुनियर’ लाई प्रधानाध्यापक बनाएर ‘सिनियर’ लाई पाखा लगाइएको स्रोत बताउँछ । ठाकुर पौडेलसहित अन्य चार जना पुराना शिक्षक यसै कारण असन्तुष्ट रहेको सुन्नमा आएको छ । 

‘त्यहाँ चार जना सिनियर शिक्षक हुनुहुन्छ । पौडेलले पढाउन थालेकै वर्षौं बितिसकेको छ । अरुको पनि १०–१२ वर्ष पुगिसकेको छ । प्रावि तहको दरबन्दी भएकी शिक्षिकालाई मा.वि तहको प्रधानाध्यापक बनाइदिएपछि आलोचना हुनु स्वाभाविकै हो । 

फण्डको दुरुपयोग 

विद्यालयको फण्डमा भएको ३५ देखि ४० लाख रुपैयाँ मँहगो ब्याजमा लगाइएको स्रोतले बतायो । स्थानीयको ढाड सेक्ने गरी विद्यालयले २४ प्रतिशत ब्याजमा पैसा लगानी गरेको छ । ‘फण्डको रकम कहाँ लगानी भएको छ ? भनेर हामीले पटकपटक हिसाबकिताब माग गरिसकेका छौं । तर, विद्यालयले देखाउनै मान्दैन’, स्रोतले भन्यो । 

बैंक तथा वित्तीय संस्थामा राख्नुपर्ने रकम आफैंले चलाउने र व्यक्तिगत ब्याजमा लगाउने प्रधानाध्यापकलाई कारबाही गर्नुपर्ने भनी स्थानीयले यसअघि पनि पटकपटक माग गरिसकेका छन् । सरकारी शिक्षक, कर्मचारी, प्रहरी, सेना आर्थिक कारोबार हुने कुनै संस्थामा वा समितिको जिम्मेवार पदमा बस्न नमिल्ने प्रावधान भए पनि उनी सहकारीमा समेत आबद्ध भएको स्रोतले जानकारी दियो । 

यता, विद्यालय भवन निर्माणमा पनि ठूलै घोटाला भएको स्रोतको दाबी छ । दुई वटा भ्रमण निर्माणका लागि एक करोड ६० लाख रुपैयाँ बजेट आएकोमा टेण्डर आह्वान गरिएन । उक्त भवन नक्साअनुरुप नभएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । 

प्रधानाध्यापक भण्डारीले भने विद्यालयको रकम ब्याजमा लगाएको विषय सरासर झुठ भएको बताइन् । अख्तियारमा उजुरी परेको स्वीकार्दै भनिन्, ‘विद्यालय व्यवस्थापनको सहमतिअनुसार लगानी गरेको हो । अहिले उठाइसकेका छौं । फण्डको दुरुपयोग भएको छैन । विद्यालयले हिसाबकिताब सबै राष्ट्रिय सूचना आयोगलाई पठाइसकेको छ ।’
 

टिप्पणीहरू