बुझ्ने लुगा भत्ता, हिँड्ने कता–कता

बुझ्ने लुगा भत्ता, हिँड्ने कता–कता

पोशाकका लागि वार्षिक १० हजार भत्ता बुझ्ने तर ‘हिरोइज्म’ देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा कार्यालय पुग्नेकै बिगबिगी देखिन्छ अचेल सरकारी कार्यालयतिर ! एउटा निकायले गरेको अनुगमनको क्रममा अधिकांश सरकारी कर्मचारी बाहिरी पोशाक लगाएर जाने, पूरै समय कार्यालयमा नबस्ने, आफूखुशी हिँड्ने, बाहिरी पोशाकमा कमाउ धन्दा चलाउने गरेको पाइएको छ । 

भत्ता कटौती भनिए पनि हालै प्रस्तुत बजेटको शीर्षक नम्बर २११३० मा १० किसिमका भत्ताका लागि मात्र झण्डै १३ अर्ब रूपैयाँ छुट्ट्याइएको छ । जसमध्ये कर्मचारीको पोशाक शीर्षकमा ५ अर्ब १२ करोड ७ लाख रूपैयाँ विनियोजित छ । पुरुषका लागि गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट तथा कालो जुत्ता अनिवार्य छ । यस्तै, महिला कर्मचारीलाई गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट, कालो जुत्ता, स्याण्डल वा आकाशे गाढा नीलो सारी, गाढा बैजनी रंगको सारीको पारी, पारीअनुसारको ब्लाउज वा आकाशे गाढा नीलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउन तोकिएको छ । तर, पोशाक भत्ता बुझ्ने अनि टिसर्ट र जिन्स प्यान्टमा ठाँटिने कर्मचारीको बोलवाला उस्तै छ । सरकारले तोकेको पोशाक लगाउँदा कर्मचारी भनेर सबैले चिन्ने हुँदा कार्यालय समयमा मनलाग्दी हिँड्न नपाइनेदेखि घुस खानसमेत अप्ठ्यारोमा पर्ने भएका कारण नियम मिच्ने प्रवृत्ति बढ्दै गएको प्रति एउटा सरकारी निकायले चिन्ता प्रकट गरेको छ । जसरी नेपाली सेना, प्रहरी, डक्टर, नर्सहरूको ड्रेस कोड छ उही ढंगले निजामती कर्मचारीका लागि पोशाक निर्धारण गरिएको थियो ०६८ साउन १ गतेबाट । तर, यातायात, मालपोत, भन्सारलगायत मालदार ठाउँमा कार्यरत कर्मचारीले तोकेको पोशाक लाउन आनाकानी गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रले पत्ता लगाएको छ ।

केन्द्रले ४७ कार्यालयमा अनुगमन गर्दा १५० कर्मचारी आउट ड्रेसमा कार्यालय पुगेको र ८८९ जना कार्यकक्षमा नभेटिएको अवस्था छ । सतर्कता केन्द्रका अनुसार बाहिरी पोशाक लगाएर कार्यालय पुग्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १५ कर्मचारी छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२, कान्ति बाल अस्पताल र संघीय मामिला तथा सामान्य प्रशासन र नेपाल नापतौल तथा गुणस्तर विभागका ११/११, निजामती अस्पतालका ९, मालपोत कार्यालय, कलंकीका ८, शहरी विकास तथा भवन निर्माणका ७, कम्पनी रजिष्ट्रारका ४ गरी १५० कर्मचारी छड्केमा परेका छन् । यस्तै कार्यालय समय कार्यकक्षमा नभेटिएका कर्मचारीको संख्या ८८९ रहेको छ । सबैभन्दा धेरै निजामती अस्पतालका १९४ कर्मचारी फन्दामा पर्दा संघीय मामिला तथा सामान्य प्रशासनका ८१, गृह मन्त्रालयका ५८, कृषि तथा पशुपक्षी मन्त्रालयका ५४, शिक्षा मन्त्रालयका ५३, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३२, वन तथा वातावरणका ३१ कर्मचारी छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २९, टोखा नगरपालिकाका २४ कर्मचारी पनि यही समय छड्केमा परेका थिए ।

उता, संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारी कार्यालय समय कार्यकक्षमा नभेटिएको गुनासो बढेपछि सोमबार बिहानै आन्तरिक छड्के गर्दा १०३ कर्मचारी गयलमा परे । लोकसेवाका गुरुको रूपमा चिनिएका सामान्यको कर्मचारी प्रशासनका हाकिम हेमराज तामाङसमेत तिनैमध्येका थिए । छड्केमा परेर हाजिरीमा रातो लाग्नेमा सबैभन्दा धेरै नासु र सहायक स्तरका कर्मचारी ४१, अधिकृत तहका ३६ जना, २३ जना उपसचिव र सहसचिव तहका हेमराज तामाङहरू छन् । यसरी छड्केमा परेका १०३ कर्मचारीको नामावली अहिले मन्त्रालयको आन्तरिक महाशाखा हेर्ने मीरा आचार्यले उतारिरहेकी छन् । 
 

टिप्पणीहरू