राजदूत बन्न कसलाई नहोला र रहर !

राजदूत बन्न कसलाई नहोला र रहर !

सरकारले राजदूत नियुक्तिका लागि सुरसार गरेको थाहा छैन तर परराष्ट्रमा कुदाकुद शुरु भैसकेको छ । करिअर डिप्लोम्याटमध्येबाट राजदूत बन्नेमा सचिव भरतराज पौडेलको नाम सबैभन्दा अगाडि छ ।

आफ्नो हिसाबले तयारी अघि बढाइसकेका उनी विवादित नहुने गरी फुकेर कदम चालिरहेको बताइन्छ । उनी बीचैमा राजदूत बनेर युरो, अमेरिका गए प्रवक्ता सेवा लम्साल सचिवमा बढुवा हुनेछिन् । राजदूत पदका स्वभाविक दाबेदारहरुमा लोकबहादुर थापा, घनश्याम लम्साल, तेजबहादुर क्षेत्री, धनबहादुर ओली छन् । 

यता, भर्खरै बढुवा भएर दिल्लीबाट फर्केका रामप्रसाद सुवेदीले पनि राजदूतको आश गरेको चर्चा सुनिन्छ । तर, विदेशबाट फर्केको कम्तीमा दुई वर्ष पूराहुनुपर्ने नियम नमिचिए उनले यसपालि त्यत्तिकै चित्त बुझाउनुपर्ने हुन्छ । 

अर्कोतिर पदावधि सकिएका अरु सबैलाई फिर्ता बोलाइँदा तीन जना राजदूतले भने असारसम्मको थमौती पाएका छन् । संयुक्त राष्ट्रसंघका लागि अमृत राई, जेनेभाका मणि भट्टराई र फ्रान्सका दिपक अधिकारीको म्याद थपिएको हो । 

राजदूत मात्र होइन परराष्ट्रकै अर्को यौटा महत्वपूर्ण राजनीतिक नियुक्तिमा पनि धेरैले आँखा लगाइरहेका छन् । राजनीतिक नियुक्तिका आधरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक बनाइने भएकाले रिटायर्ड कर्मचारीहरूको समेत भित्रभित्रै दौडादौड छ । सरकारले क्याबिनेटबाट निर्णय गरेर पहिलेको ६० वर्षे उमेर हद संशोधन गरी ६५ वर्ष कायम गरेपछि रिटायर्ड डिप्लोमेटहरू त्यहाँको निर्देशक बन्न इच्छुक देखिएका छन् । 
 

टिप्पणीहरू