एकदिने नेपाल भ्रमणमा आएका अमेरिकी मन्त्रीसँग काँग्रेस सभापतिको भेट

एकदिने नेपाल भ्रमणमा आएका अमेरिकी मन्त्रीसँग काँग्रेस सभापतिको भेट

एक दिनका लागि काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । 

दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा आज बिहान नेपाल आइपुगेका लूले अपराह्न देउवासँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा  नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् । 

भेटघाटको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा देउवाले भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

दक्षिण तथा मध्य एसिया मामला हेर्ने सहायकमन्त्री लु आज बिहान पौने १२ बजे काठमाडौँ आइपुगेका थिए । बिमान बाङ्लादेश एयरलाइन्सको बिजी ३७१ उडानबाट काठमाडौँ आएका उनलाई यहाँस्थित अमेरिकी राजदूत डिआर थमप्सनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

सहायकमन्त्री लु बात्तिसपुतलीस्थित होटल द्वारिकामा बसेका छन् ।  उनि आज राती सवा दुई बजे कतार एयरवेजको क्युआर ६४५ नम्बरको उडानबाट दोहा हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू