साँझ आदेश,अँध्यारोमा धरौटी,रात छिप्पेपछि रिहाइ

साँझ आदेश,अँध्यारोमा धरौटी,रात छिप्पेपछि रिहाइ
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा चलाइएका रवि लामिछानेलगायत इजलासमा उपस्थित सात जना प्रतिवादीमध्ये धरौटीमा राति छ जना छुटेका छन् । रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने ६५ लाख, छविलाल जोशी ८८ लाख, रामबहादुर खनाल १२ लाख रुपैयाँ बुझाएर राति नै रिहा भएका हुन् ।

८० बर्षका बिमार लाहुरे कृष्णबहादुर गुरुङ एक लाख,छोरी तथा पूर्व एमाले प्रदेश सभासद मीना गुरुङ तथा आरती गुरुङ जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर हिजै राति रिहा भए । ३७ लाख रुपैयाँ धरौटी माग गरिएकि जिबी राईकी प्रेमिका लीला पछाइले भने अरुसरह हिजै राति रकम बुझाउन सकिनन् । 

कास्की जिल्ला न्यायाधीश नितिज राईको धरौटीमा रिहा गर्ने आदेशबमोजिम छुटेका लामिछानेलाई प्रहरीले स्वास्थ्य जाँचका लागि फिस्टेल अस्पताल लगेको थियो । स्वास्थ्य परीक्षणपछि प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाइयो। काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा उनीलगायत थुप्रैविरुद्ध मुद्दा दायर भइसकेको छ । प्रहरीले पक्रेर काठमाडौं ल्याउनुअघि रविले आफैँ हाजिर हुन जाने बताएसङ्गै प्रहरीले राति नै परिवारको जिम्मा लगाएको हो ।

सबैभन्दा रोचक पक्ष त हिजो आदेश भएको र धरौटी जम्मा गरिएको समयलाई मान्न सकिन्छ । कात्तिक १५ गतेदेखि माघ १६ गतेसम्म नेपालमा सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म खुल्छ । बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार एकाध सन्ध्याकालीन काउण्टर भएका शाखामा ५ बजेसम्म खुल्ने र अन्य सबै ४ बजे बन्द हुन्छन् । हिजो कास्की जिल्ला अदालतको आदेश साँझ साढे ५ बजे आएको थियोे ।

रातको तीन घण्टाभित्र रविलगायत छ जना प्रतिवादीले लाखौं रुपैयाँ नगद नै अदालतमा जम्मा गर्न सक्नुलाई बैंकिंग क्षेत्रमा अचम्मलाग्दो घटना  मानिन्छ ।  रविले खनखनी गनेर ६५, छविले ८८ र रामबहादुरले १२ लाख नगद जम्मा गर्न सकेका थिए । एक लाख र पाँच पाँच लाख रुपैयाँलाई ठूलो रकम मान्न मिल्दैन । तर ३७ लाख निकाल्न नसक्दा लीला हिजो पनि प्रहरी हिरासतमै बस्न बाध्य भइन् । 

अदालतमा राति ९ बजे १ करोड ६४ लाख रुपैयाँ जम्मा भएको थियो । प्रतिवादीहरुले न्यायाधीशले आदेश पढेर सुनाएको रातको एकाध घण्टामा त्यत्रो रकम संकलन गर्नुलाई पनि रहस्यमय भनिएको छ ।

टिप्पणीहरू