सरकारसँग कांग्रेस नेता असन्तुष्ट, सुझाव लिन जिल्ला दौडाह

सरकारसँग कांग्रेस नेता असन्तुष्ट, सुझाव लिन जिल्ला दौडाह
सुन्नुहोस्

सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले केपी ओली नेतृत्वको सरकारको कार्य सम्पादनप्रति असन्तुष्टि जनाएका छन् । 

सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन नसकेको जनाउँदै उनले सुशासनका सवालमा पनि प्रभावकारिता देखाउन नसकेको बताए । नेपाल प्रेस युनियनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा साउदले भने, ‘सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन सकिरहेको छैन, हामीले विकासका प्राथमिकताहरुको निर्धारण गर्न आवआवश्यक छ ।’

सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले त्यसैका लागि कांग्रेसले साथ दिइरहेको बताए । तर, काम गर्न नसक्दा खबरदारी पनि गर्ने उनले स्पष्ट पारे। 

‘अहिलेको गठबन्धनको सरकारले सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘यसका लागि नेपाली कांग्रेसले सहयोग गरिरहेको छ र काम गर्न नसक्दा खबरदारी पनि गरिरहने छौँ।’ 

सरकारका कामहरूको मूल्यांकन विभिन्न तहमा भइरहेको भन्दै पूर्वमन्त्रीसमेत रहेका नेता साउदले उपयुक्त समयमा कांग्रेसले आन्तरिकरुपमा मूल्यांकन गर्ने जानकारी दिए । मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहमा निस्किएको उनको भनाइ थियो ।

‘सरकार बनाउँदा ७ बुँदे सहमति गरेका छौँ । ६ महिना पुग्न थालेको छ, यस अवधिमा पार्टीका साथीहरु र जनताको राय के छ भनेर बुझ्न आएका छौँ,’ साउदले भने, ‘अहिले सरकारमा नेपाली कांग्रेस पनि सामेल छ । त्यसकारण सरकारले गरेका कामहरूलाई सहयोग गर्ने र जनताको सेवा गर्नका लागि दबाब दिने र खबरदारी गर्ने जिम्मेवारीमा हामी छौँ ।’

संविधान संशोधनको मुद्दामा कांग्रेस प्रतिवद्ध रहेको दोहोर्याउँदै उनले त्यसनिम्ति राष्ट्रिय सहमति जटाउनुपर्नेमा जोड दिए । ‘संविधानका कमिकमजोरी सुधार गर्न आवश्यक छ । संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट छ । यसका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ,’ नेता साउदले भने ।
 

टिप्पणीहरू