घर घरमा बाढी

घर घरमा बाढी

काठमाडौं महानगरपालिकाको कपनमा बाढी आएको छ । बाढी त खोलामा आउनुपर्ने हो । तर कपनको सडकमा आएको छ । बिचरा बाढीलाई पनि समस्या छ । खोलामा आउँ भने अहिले खोलै छैन । खोला नभएपछि कहाँबाट आउने ? सडकबाट आउनुपरेन ? आखिर सडक कुनै मान्छको बाउको सम्पत्ति त होइन । सडक भनेको साझा हुन्छ । साझा भएपछि बाढीको पनि भयो । अतः सडकबाटै आउन पाउनु बाढीको अधिकार पनि हो । 

त्यसो त अहिले नेपालमा जनताको घर–घरसम्म पुग्ने, पहाडदेखि तराईका बस्ती–बस्तीसम्म पुग्ने केही छ भने त्यो बाढी मात्रै हो । बाढी सबै ठाउँमा समान रूपले पुगिरहेको छ । खोला भएसम्म खोलैमा आउँछ । खोला भएन भने सडकमा आउँछ, घरमा आउँछ, गाउँमा आउँछ, ठाउँमा आउँछ । जहाँ जहाँबाट मिल्छ त्यहाँ त्यहाँबाट आउँछ । देशमा गणतन्त्र आएपछि गाउँ गाउँमा सिंहदरबार आउँछ भन्थे । सिंहदरबार त आएन, अहिले बाढीचाहिँ आइरहेको छ । 

अब जहाँसम्म कपनमा आएको बाढी छ, त्यो अहिले नेपालकै सबैभन्दा बढी बाढी पसिरहेको ठाउँ हो । त्यहाँ अहिले जनसंख्याको बाढी, भवन निर्माणको बाढी, बसाइँ सराइको बाढी, आप्रवासनको बाढी नै आइरहेको छ । बिचरा पानीलाई त बाढी आउने अवसरै छैन । बल्ल अहिले मौका मिलाएर आएको हो । बल्ल बल्ल आएको बाढीको के आलोचना गर्नु र होइन ?
 

टिप्पणीहरू