गत साता बाहिरिएको एक क्विन्टल सुन प्रकरण थप रहस्यमय बन्दै गएको छ । संसदमा सत्ता पक्ष र विपक्षका सांसदहरुले यसनिम्ति एक अर्कालाई दोष लगाएका छन् । सामाजिक सञ्जालमा स्टाटस र कमेन्ट हेरिनसक्नु छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र राखेर ल्याइएको सुनका ३२० थान पछिल्लो पटक भन्सारबाट बाहिर निकालिएपछि समातिएको यस काण्डमा निमुखा गाउँले,श्रमजीवी ट्याक्सी चालक,केही भन्सार एजेन्ट र तल्ला तहका कर्मचारीलाई संलग्नताको आरोप लगाएर पक्रिएको छ ।
त्यसरी समातिएको सुन राष्ट्र बैंकको ढुकुटीमा लगेर राखिएको छ भने सरकारी कर्मचारीहरु सम्मिलित छानबिन टोली बनाइएको छ । संसदमा माननीयहरुले उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् । विपक्षी दलहरुसहित सत्तापक्ष नेपाली काँग्रेसकै सांसद सुनिल शर्माले समेत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् ।
सोही सन्दर्भमा साउन ३ गते दिउँसो बाहिरिएको सुन तस्करीको घटनापछि भन्सार कार्यालय,त्यहाँ कार्यरत सुरक्षा निकायका जिम्मेवार कर्मचारीलगायतका गतिविधिलाई पनि मिहीन ढंगले हेरिनुपर्ने आवाज उठेको पाइन्छ । जनआस्थालाई प्राप्त विवरणअनुसार,त्यसबेला विमानस्थल भन्सार कार्यालयका मुख्य भन्सार अधिकृत अरुण पोखरेल र सुरक्षा प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी बिदामा थिए ।
सरकारले यसबीच अरुण पोखरेलको स्थानमा सहसचिव टोकनाराण पाण्डेलाई ल्याएको छ भने त्यहाँका प्रहरी प्रमुखलाई कुनै कारबाही वा सरुवाको आवश्यकता नै ठानिएको छैन । बरु उनै ठकुरी सोमबार नयाँ दिल्ली गएका छन् नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा । सो क्रममा उनी विमानस्थलको विशिष्ट कक्षबाट खुसुक्क प्लेन चढ्न पुगेका थिए । जबकि उक्त कक्ष प्रहरीका एआइजी र सोभन्दा माथिल्लो तहका पदाधिकारीले मात्र प्रयोग गर्न पाउँछन् ।
विमानस्थलमा खटिएका प्रहरीमाथि भन्सार पास भएका यात्रुहरूको सामान्य तौलका सुनको गहनामा आँखा लगाउने अनि ठूलो परिमाणमा सामान पास हुने ठाउँ आगमनतर्फ परिचालित हुने गरेका छन । तर सादा पोशाकका प्रहरीलाई त्यता नखटाएकोले आगमनतर्फका यात्रुहरुलाई कडाइ गरेको देखाउने र कार्गोमा मोलमोलाइ गर्ने गरिएको भन्सारका कर्मचारीहरुको आरोप छ । उक्त काण्डमा सुदूर पश्चिमका तीन जना भन्सार कर्मचारी र एजेन्ट पक्राउ परेका छन् ।
हुम्लाको हिल्सा नाकाबाट २० केजी सुन तस्करी गरेको अभियोगमा मुछिएका थिए । सोही कारण कार्यकालअघि नै त्यहाँबाट तानिएका उनलाई उल्टै पुरस्कारस्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको छ ।
विमानस्थलमा पहिले सुन तस्करी हुने बाटो थाई एयरको ह्याङ्गर थियो । सोही बाटो प्रहरी कर्मचारीले विशेषतः डिक्कीमा राखेर सुन तस्करी गर्न सहज हुनेगरी स्कुटर नै लैजाने गरेको समेत पाइएको छ । विमान वेदेखि करिव तीन सय मीटर हिँडेर बढीमा १० मीनेटको दूरीमा प्रहरीले दुई पाङ्ग्रे सवारी साधन किन राख्नु परेको हो प्रष्ट छैन ।
आयल निगमका कर्मचारी र ड्युटीमा खटिएका प्रहरीको सवारी साधन ट्याङ्कर पार्किङ नजिकै राखिनु पनि घातक हुने निश्चित छ । कम्तीमा पनि त्यस्ता सवारी साधन विमानको पहुँचमा पुगेर फर्किएको तेल ट्याङ्करभन्दा दुईसय मीटर टाढा हुन जरुरी हुने विज्ञहरुको भनाई छ ।
विमानस्थलमा कार्यरत प्रहरीलाई स्कुटर लिएर ड्युटीमा आउन प्रतिबन्ध लगाउन केले बाधा पार्यो भन्दै विमानस्थल कार्यालय,भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारीहरुले एकै स्वरमा प्रश्न उठाएका छन् । उनीहरुले प्रहरीलाई अतिरिक्त झोला ड्युटीमा लैजान प्रतिबन्ध लगाउनुपर्ने तथा विमानस्थलमा खटिने प्रहरी कर्मचारीलाई खल्ती नभएको पोशाक दिनुपर्ने अवस्था आएकोसमेत बताउन थालेका छन् ।
सुरक्षा निकायबाहेक अन्य कार्यालयका कर्मचारीहरु अधिकांशले प्रहरी कर्मचारीको विमानस्थलमा ड्युटीमा जाँदा र फर्कंदा कम्तीमा फिल्ड अधिकृतले चेक जाँच गर्नैपर्ने अवस्था छ । उनीहरुले यात्रु छिर्ने बाटो निर्वाध प्रयोग गर्ने गरेकोमा त्यहाँ अधिकृतस्तरको कर्मचारीबाट अनुगमन नगरेसम्म विदेशी मुद्रालगायत अन्य सामानको चोरी पैठारी र अवैध निकासी नरोकिने दाबी गरेका छन् ।
यात्रु प्रस्थान कक्षको एक्सरेमा बाहिरबाट नदेखिने गरेर टेबल राखिनुलाई अनुपयुक्त ठहर्याइएको छ । उक्त आडमा यात्रुहरुसँग साँठगाँठ गरेर लेनदेन हुनसक्ने आशंका गरिन्छ ।
यसवीच डिएसपी मोहन विष्टको बारेमा पनि गम्भीर प्रश्न उठाइएको छ । हुम्लाको हिल्सा नाकाबाट २० केजी सुन तस्करी गरेको अभियोगमा मुछिएका थिए । सोही कारण कार्यकालअघि नै त्यहाँबाट तानिएका उनलाई उल्टै पुरस्कारस्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको छ । अर्का डिएसपी पूर्णिका चन्द पनि सुदूर पश्चिमकै हुन् ।
संवेदनशील स्थानमा प्रहरीको ड्युटी समय पनि लगातार घण्टौं हुने गरेको पाइएको छ । कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा २० मीनेटभन्दा बढि एक्सरे ड्युटीमा कसैलाई पनि राखिँदैन । अन्तर्राष्ट्रिय मापदण्ड विपरीत काठमाडौंको त्रिभुवन विमानस्थलमा भने छ घण्टासम्म खटाउने गरिएको छ ।
प्रहरीको ड्युटी प्वाइन्ट तथा एक्सरेमा सर्भिलेन्स क्यामेरा जडान गर्दा विश्वसनीय र पारदर्शी एवम् दोहोरो निगरानीले सुरक्षा व्यवस्था थप मजबुत हुनेतर्फ हालसम्म कसैले ध्यान दिएको पाइएको छैन ।त्यसैगरी घुमुवा प्रहरीले आईएमएस क्षेत्रमा रहेको मदिरा पसलमा यात्रुबाट लिइएको सुन वा सुनका गहना राख्ने गरेको धेरैलाई जानकारी भइसकेको छ । उक्त इलाकामा निगरानीमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई प्रवेश निषेध गरिएको छ ।
भन्सारका एक जना कर्मचारी भन्छन्, ‘घुमुवा प्रहरी कर्मचारीहरुले समेत सुन तस्करीमा सहयोग पुर्याउने भएकाले उनीहरुलाई पनि अरुलाई झैं मेटल फ्रि गर्नुपर्ने आवश्यकता छ ।’