बाजुराका जनप्रतिनिधिको काठमाडौँमा बास

बाजुराका जनप्रतिनिधिको काठमाडौँमा बास

सुदूरपश्चिम प्रदेशको बाजुरा नेपालकै दुर्गम जिल्लामा पर्छ । यसलाई सुगम बनाउन मिहिनेत गर्नुपर्नेमा यहाँका अधिकांश जनप्रतिनिधि भने काठमाडाैँमै बस्ने गरेको पाइएको छ । नौमध्ये ६ पालिका एमालेले जितेको छ भने तीन कांग्रेससँग छ । तर, कांग्रेसले जितेको पालिकाको तुलनामा एमालेले जितेका पालिका प्रमुखहरूले जनताको कर दोहन गर्न थालेको सदरमुकाम मार्तडी र सम्बन्धित पालिकाका बजार तथा टोलमा चिया गफको विषय बन्न थालेको छ ।

विमानस्थलसमेत रहेको उत्तरी क्षेत्रको कोल्टीमा बूढीनन्दा नगरपालिकाका मेयर जनक बोहराको फजुल खर्चबारे चर्चा छ । अहिलेसम्म प्राप्त विवरणअनुसार बोहराले गएको एक वर्ष काठमाडौँलगायत शहरी क्षेत्रमा आउन जानमै ६० लाखजति खर्च गरेका छन् भने गाडी मर्मतको नाममा थप ३० लाख सकेको गुनासो छ । 

पोखरा र काठमाडाैँमा पढेका युवा नेता बोहराले केही गर्छन् कि भनेर उनलाई जनताले दोस्रो पटकको प्रयासमा जिताएका थिए । तर, धेरै समय घुमफिरमै बित्ने गरेको छ । उनलाई धेरैले संघको माननीय कि पालिकाको मेयर भनेरसमेत भन्न थालेका छन् ।

बोहराजस्तै एमालेका अर्का युवा नेता तथा गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाको पनि बसोबास धेरै काठमाडौँमै हुने गर्छ । एमाले जिल्ला अध्यक्षसमेत रहेका जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीसमेत धेरै समय काठमाडौँ र नेपालगञ्जमा बिताउने गर्छन् । ती दुवै जिल्लाबाहिर बढी बस्ने भए पनि जनताबीच लोकप्रिय भएर दोस्रो पटकसमेत निर्वाचित भएका थिए । सदरमुकाम मार्तडी रहेको बडीमालिकाका मेयर अमरबहादुर खड्का पनि रोकाया र शाहीकै हाराहारीमा जिल्लाबाहिर बस्छन् । 

२०७४ मा हारेर विवादै विवादबीच ०७९ मा दुई पटक लडी निर्वाचित बूढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ एमालेका अर्का युवा नेता हुन् । उनी पनि जिल्लाबाहिर दौडिरहेका हुन्छन् तर बोहरा, रोकाया र शाहीभन्दा बढी समय जिल्ला बस्छन् । एमालेबाटै जितेका खप्तडछेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत अरु जनप्रतिनिधिको तुलनामा बढी जिल्लामा बस्छन् । एमाले सम्बद्ध केही जनप्रतिनिधिका श्रीमतीसहितका बच्चाबच्ची काठमाडौँमै बस्ने भएकाले धेरै ओहोरदोहोर हुने गरेको पनि बताइन्छ ।

रावतजस्तै बढी जिल्ला बस्नेमा त्रिवेणी नगरपालिकाका मेयर कर्णबहादुर थापा, स्वामीकात्र्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकाया र हिमालीका अध्यक्ष गोविन्द मल्ल हुन् । थापा, रोकाया मल्ल कांग्रेसबाट निर्वाचित भएका थिए । मल्ल त दोस्रो पटक पनि अध्यक्ष जित्न सफल भए । यद्यपि, कांग्रेसका जनप्रतिनिधिको तुलनामा एमालेका खड्का, रोकाया र बाँनियाले जनतासँग जोडिने कार्यक्रम ल्याएका छन् । 
 

टिप्पणीहरू