करार शिक्षक स्थायी भएपछि एमालेका विद्यार्थी रुष्ट

करार शिक्षक स्थायी भएपछि एमालेका विद्यार्थी रुष्ट

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी गराउने निर्णयप्रति आपत्ति जनाएको छ । 

प्रक्रिया मिचेर करारका शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्ने निर्णय गरिएको भन्दै अनेरास्ववियुले आपत्ति प्रकट गरेको हो । उसले तत्काल उक्त निर्णय सच्याउनुपर्ने बताएको छ । 

अनेरास्ववियु त्रिवि कमिटीका संयोजक समिरराज विष्टले स्वार्थगत राजनीतिमा लिप्त रहँदै आफ्ना नजिकका व्यक्तिलाई स्थायी गराउन यस्तो कदम चालिएको जिकिर गर्दै आज प्रकाशित विज्ञप्तिमा खुल्ला प्रतिस्पर्धाबाट मात्रै पदपूर्ति गर्न माग गरेका छन् । 

‘त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गरी त्रिविमा रिक्त रहेका प्राध्यापक तथा कर्मचारीको खुल्ला प्रतिस्पर्धाबाट मात्रै पदपूर्ति गर्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटी नेपाल सरकार एवम् त्रिवि पदाधिकारीसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियुले आफ्ना मागको नजरअन्दाज गरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
 

टिप्पणीहरू