दमकमा चुरोट, सूर्ती र मदिराको किनबेच बन्देज

दमकमा चुरोट, सूर्ती र मदिराको किनबेच बन्देज

झापाको दमक नगरपालिकाले सार्वजनिक स्थानमा मादक पदार्थ र सूर्तिजन्य बस्तुको सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ । 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ तथा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा भएको व्यवस्थाअनुसार नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थानमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको सेवनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार सार्वजनिक स्थलबाट सय मिटर वरिपरिको क्षेत्रभित्र समेत सूर्तिजन्य पदार्थको सेवन तथा बिक्रीवितरणमा रोक लगाइएको छ । 

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरपालिकाभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाइएको छ ।’ 

नगरपालिकाले ऐनको प्रावधान निर्धारित सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थको सेवन तथा बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

टिप्पणीहरू