सन्दीपको मुद्दा पण्डितको इजलासमा

सन्दीपको मुद्दा पण्डितको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशी चढेको छ । 

अन्तिम चरणमा रहेको मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ । आज पण्डितको इजलास नम्बर १५ मा मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ । 

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी र उनको आमाको समेत उमेर विवाद देखिएको कागजात झिकाउन आदेश थिएको थियो । 

उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि उनी रिहा भएका थिए । 

शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते अर्को आदेश दिएको थियो । 

तर, किशोरीको उमेर यकिन नहुँदा अड्किँदै आएको मुद्दा उनकी आमाको नागरिकताका कारण पुनः लम्बिएको हो । आज सुनुवाई भए एक–दुई दिनमै अन्तिम फैसला आउने अनुमान गरिएको छ ।

टिप्पणीहरू