डाक्टरी पढ्न चाहने निमुखालाई सघाउँदै हेलम्बु

डाक्टरी पढ्न चाहने निमुखालाई सघाउँदै हेलम्बु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति दिने भएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमअन्तर्गत पालिकामा स्थायी बसोबास गरी स्वदेशमा नै एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले प्रकाशित गर्दै छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न इच्छुक विद्यार्थीलाई निवेदन पेश गर्न आग्रह गरेका छन् । 

पालिकाले विद्यार्थीहरुको मनोबल उच्च राख्न र पालिकाभित्र दक्ष चिकित्सक उत्पादन गर्ने कार्यमा सहयोग पुप्याउन यस्तो कार्यक्रम ल्याइएको जारी सूचनामा उल्लेख छ । एमबीबीएस अध्ययन गर्न इच्छुक दलित छात्रछात्राहरुको हकमा सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने तथा अन्य जातजातिको हकमा वार्षिक दुई लाख रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । 

छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई आगामी असोज ७ गतेसम्म पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुपर्ने छ । 

सूचनामा नागरिकताको प्रतिलिपि, अघिल्लो तहको मार्कसिट, गरिब विपन्न, सीमान्तकृत, दलित, जनजाति, जेहेन्दार, जनओन्दालन, सशस्त्र संघर्ष तथा बेपत्ता एवम् शहिद परिवारका सन्तति प्रमाण खुल्ने परिचय, सम्बन्धित वडा कार्यालयको सिफारिस, शिक्षण संस्थाबाट एमबीबीएस अध्ययन गर्ने विद्यार्थी भएको सिफारिसपत्र र विद्यार्थीको परिचय पत्रको प्रतिलिपि, शिक्षण संस्थालाई तिर्नु, बुझाउनुपर्ने शुल्क खुल्ने बिल भरपाई पत्रसहित निवेदन पेश गर्नुपर्ने उल्लेख छ ।
 

टिप्पणीहरू