महावीर पुनले पदक किन्नेलाई उपहार दिने

महावीर पुनले पदक किन्नेलाई उपहार दिने

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् ।

उनले विभिन्न मुलुकले सम्मानस्वरुप दिएको पदक बेच्न लागेका हुन् । आज सामाजिक सञ्जालमा पदकहरुको तस्बिर पोष्ट गर्दै उनले २०–२५ लाख रुपैयाँमा आफ्ना पदक किन्न आह्वान गरेका छन् । वीरगञ्जको कृषि औजार कारखानामा तीन सयदेखि पाँच सय केभीसम्मको बिजुली ट्रान्सफर्मर दशैंअगावै जडान गर्नुपर्ने भएकाले पैसाको एकदमै खाँचो परेको उनले बताएका छन् । 

पुनले लेखेका छन्,‘लौ त, आज जनै पूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरु मिलेर २० देखि २५ लाखसम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरु किन्नुहोस् त । नेपालको पदकचाँहि बेच्न नपाइने भयो । ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ ।’

सन् १९९२ मा अमेरिकामा पाएको ‘होनोर ग्रयाजुएड मेडल’, सन् २००७ मा फिलिपिन्समा पाएको ‘रामोन म्यागसेसे अवार्ड मेडल’ र सन् २०१४ मा अमेरिकामा पाएको ‘इन्टरनेट हल अफ फेम’ बिक्रीका लागि राखिएको छ । पदक खरिद गर्ने व्यक्ति वा समूहलाई सम्मान पत्र, टोकन अफ लभ र उपहारको थुप्रो सित्तैमा दिइने जनाइएको छ । 

आविष्कारक पुनले केही समयअघि नेपाल सरकारबाट दिइएको विभूषण पनि लिलामीका लागि राखेका थिए । त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विभूषण रद्द गर्ने चेतावनी दिएको थियो ।
 

टिप्पणीहरू