इन्स्योरेन्स कर्मचारीको अढाई लाख गायब

इन्स्योरेन्स कर्मचारीको अढाई लाख गायब

टेकसिंह धामी

डोटीस्थित दिपायलको पिपल्ला बजारमा पार्किङ्गमा राखिएको मोटरसाइकलबाट दिउँसै दुई लाख ४५ हजार रुपैयाँ हराएको छ ।

हिजो बिहान सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कार्यालय पछाडि पार्किङ्गमा राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको बताइएको छ ।

दिपायल सिलगढी नगरपालिका–५ का हिक्मत भण्डारीको उक्त रकम मोटरसाइकलबाट गायब भएको हो । उनले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेगगाडमा राखेको सो रकम एकाएक गायब भएको बताए ।

भण्डारी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कर्मचारी हुन् । बैंकमा जम्मा गर्न लगिएको रकम मोटरसाइकलमै छाडेर उनी हिजो बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए । कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा लैजान भूलेका भण्डारी करिब डेढ घण्टापछि मोटरसाइकल भएको ठाउँमा पुग्दा रकम हराएको हो ।

‘डेढ घण्टापछि एक्कासी पैसा मोटरसाइकलमा छुटेको याद आयो’, भण्डारीले भने, ‘पैसा लिन जाँदा गायब भएको थियो । दुःख गरी कमाएको पैसा गायब हुँदा रुनु न हाँस्नु भएको छ ।’

प्रहरीले उक्त रकमको खोजी गर्दै सिसिटिभी अध्ययन र छानबिन अगाडि बढाएको बताएको छ ।

टिप्पणीहरू