राजनीतिको जरो–किलो किन हल्लिँदै छ ?

राजनीतिको जरो–किलो किन हल्लिँदै छ ?
सुन्नुहोस्

– लेखनाथ भण्डारी

खेती किसानी र विशेष गरी जीवन निर्वाह गर्ने पहाडी र पहाडी ग्रामीण जीवनसँग सम्बन्धित विषय हो – किलो सार्नु । तराईका ग्रामीण जीवनमा पनि यस्तो हुन्छ तर किलो सार्नुको अर्थ बुझाउने स्थानीय भाषा फरक होलान् । ‘किलो सार्दै गर’ भनेर बुबा–आमा अन्य काम धन्दातिर लाग्नुहुन्थ्यो । हामी केटाकेटी सकीनसकी बल गरे पनि किलो उखेल्न सक्दैनथियौं । हाम्रो प्रयास किलो सार्नेभन्दा पनि किलो उखेल्न बल गर्नमै केन्द्रित हुन्थ्यो । यो पो सकिन्छ कि त्यो पो सकिन्छ कि भन्दै सबै दाम्ला बाँधिएका किला हल्लाएर लखतरान पथ्र्याैं । 

खेती किसानीमा निर्भर ग्रमीण समुदायमा गाई, भैंसी र बाख्रा हिउँदका केही दिन खेतबारीमै लगेर बाँध्ने चलन हुन्छ । त्यो गर्नुको कारण हो, ती पशुको मलमूत्र बोकेर बारीमा लैजाने दुःख गर्नु नपरोस् । त्यसरी खेतबारीमा लगेर बाँधिएका पशु १–२ दिनमा एउटा गरोबाट अर्को गरोमा सार्नुपर्ने हुन्छ । तिनलाई बाँधिएको दाम्लो जहाँ अड्काइएको हुन्छ्, त्यो किलो हो ।

हामी स–साना केटाकेटीले बल गरेर पनि उखेल्न नसकेको त्यही किलो बुबा, आमा, दाजु वा दिदीहरू आएर सजिलै उखेल्नुहुन्थ्यो । लाग्थ्यो– ‘अहो ! बुबा, आमा, दाजु वा दिदीहरू त कति बलिया ?’ तर, त्यस किलोमा झुत्ती खेलेर हामीले जति हल्लाएका हुन्छौं, त्यो बल उहाँहरूले गर्नु पर्दैनथियो । किलो थोरै बल गरे पनि उखेलिन्थ्यो । हामी केटाकेटीले लगाएको बलले नै उहाँहरूलाई सजिलो भएको रहेछ भनेर बुझ्न सक्दैनथ्यौं । सन्दर्भ हो – नेपालको राजनीति र यसले बोकेको चरित्रको । नेपालको राजनीतिमा जरो किलो हल्लाउने प्रयास आजको होइन, पुरानै हो । पुरानो सन्दर्भ एउटा यस्तो छ–

बिपी कोइरालाले कुनै सन्दर्भको चर्चा गर्दै उल्लेख गरेका छन्, चाहन्छौ भने हामी राजा फालेर तिमीलाई राष्ट्रपति बनाइदिन सक्छौँ । कोइरालालाई लाग्छ, दुई अढाई सय वर्षदेखि जरो–किलो गाडेर बसेको राजतन्त्र यिनले यति सजिलै उखेलेर फाल्न सक्छन् भने मलाई पनि त यिनले चुट्कीकै भरमा सिध्याउँछन् । बिपी कोइरालाले राजासँग आफ्नो घाँटी जोडेको प्रसंग यिनै घटनाको पृष्ठभूमिबाट शुरू भएको हुनुपर्छ ।

राष्ट्र एकीकरण र राजतन्त्र एकै होइन ।  पृथ्वीनारायण शाहले लालमोहर लगाएर तिनका सन्तानका नाममा ‘बकस’ वा ‘बिर्ता’ तोकिदिएजस्तो मात्र होइन नेपाल ।

बिपी कोइराला जत्तिको उचाइमा पुगेको र क्षमता पनि भएको राजनीतिज्ञले राजतन्त्रको जरो–किलो उखेल्न तयार नभएपछि ती कतिपय शक्तिले स–साना समूह बनाएर राजतन्त्रको किलो हल्लाउन शुरु गरेका थिए । अन्ततः त्यो दिन आयो र अनपेक्षित धेरै ठूलो बल नगरी राजतन्त्र राजदरबार छाडेर नागार्जुन बासमा स¥यो । यसो त ०४६ सालमा संवैधानिक सीमामा बाँधिएको राजतन्त्रले ०५८ जेठ १९ मा भएको तत्कालीन राजा वीरेन्द्रको परिवारसहितको हत्याकाण्डबाटै संवैधानिक टेको पनि गुमाइसकेको थियो । राजतन्त्रको जरो–किलो हल्लिसकेको थियो । यसै पृष्ठभूमिमा दिल्ली सम्झौताको १२ बुँदे जगमा टेकेर सात राजनीतिक गठबन्धनले बिपी कोइरालालाई २ दशक पहिले प्राप्त अवसर ग्रहण गरे । 

माथिको न्यारेसनको उद्देश्य राजतन्त्रको वकालत गरेको भाष्य निर्माण गर्नु होइन । विश्वका अधिकांश देशमा राजतन्त्र छैनन् र राजतन्त्र नभएका देशको नागरिक जीवन र विकास पनि कमजोर छैन । यो न्यारेसनको संकेत यति मात्र हो कि बाह्य शक्तिको चलखेल र बलमा भएका राजनीतिक घटनाक्रम र परिवर्तनका घटनाको विकासले अपेक्षित परिणाम दिन सक्दैन । राजतन्त्र होस् वा गणतन्त्र आन्तरिक रूपमा एकताबध्द र आपसी मेलमिलाप छैन भने तिनका उद्देश्य–स्वार्थ पूरा नहुने संकेत देखा पर्नासाथ ती बाह्य भनिएका ठूला र अदृश्य शक्ति आफँैले निर्माण गरेको भए पनि नवस्थापित शक्तिको जरो–किलो उखेल्न अन्य स–साना शक्ति तयार गरेर अनुकूल वातावरण सिर्जना गर्न थाल्छन् । नेपालमा भएको अहिले यस्तै अभ्यास त होइन ! नवस्थापित ठूला शक्तिको शक्ति संघर्षको परिणाम तिनको दूरी बढेको त छँदै छ निषेध र प्रतिशोधको आगो पनि बल्न थालेको छ । उनीहरू कमजोर हुन थालेका छन् भने तिनलाई हल्लाउनका लागि नयाँ वा पुराना स–साना शक्ति एकत्रित पनि हुँदै छन् । 

अपवादका रूपमा भएका एकाध दृष्टान्तलाई उदाहरण देखाएर समयको गतिलाई उल्टो गतिमा लान सकिन्न । अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्रले जनइच्छालाई स्वीकार गर्दै जनतालाई बुझाएको पुर्खाको नासोमा अब ‘आँखा लगाउने’ प्रयास गर्नु न नैतिक हुन्छ न बुध्दिमानी पनि । उमेर पुगेपछि झरेको दाँत न पलाउँछ न त्यही झरेकोलाई टाँस्न मिल्छ । बुध्दिमानी राजपरिवारको पनि हो, पुर्खाको नासोको जरोकिलो हल्लाउन नदिनु । जनमतका आधारमा निर्वाचित जनप्रतिनिधिमार्फत राज्य सञ्चालनका लागि सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्नु नेपालको राजतन्त्रका उत्तराधिकारीको अबको दायित्व हो । झरेको दाँत गिजामा टाँसेर घाँटीमा अड्काउने प्रयास राजपरिवार वा तिनका शुभेच्छुकका लागि अप्रिय परिणामको बीउ रोप्नु हो । घटना दुर्घटनाले आज पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल जहाँ उभिएको छ, त्यसको श्रेय पृथ्वीनारायण शाहकै उत्तराधिकारीलाई नै जान्छ । तर, पछाडि फर्केर हेर्ने हो भने त किन पृथ्वीनारायण शाहकै पुर्खाको मात्र प्रश्न गर्ने ? एकीकृत नेपाल पूर्वका अरू राजा–रजौटाको पुर्खाको पनि प्रश्न गर्दा के हुन्छ ? 

राज्यको शक्तिको सिद्धान्त हुन्छ र यसले शक्तिको निरन्तरताको माग गर्छ । शक्ति खण्डित अवस्थामा राज्यको अखण्डता, अस्तित्व वा सार्वभौमसत्ता रहन्न । उदाहरणको लागि विद्युत् शक्तिको कुरा गरौं – विद्युत् जुन धातुमा प्रवाह भइरहेको हुन्छ, त्यो धातु बीचमा कुनै कारणले काटियो भने विद्युत् प्रवाह पनि बन्द हुन्छ र फेरि त्यही धातु जोड्नुपर्ने हुन्छ । राज्यको शक्तिको सिद्धान्त पनि यस्तै हो । यसको शक्तिको सिध्दान्तको निरन्तरतालाई राजतन्त्रले कायम गरिदिएको मात्र हो । त्यसलाई राजतन्त्रका प्रतिनिधिको रूपमा ज्ञानेन्द्र शाहले जनतालाई फिर्ता गरिसकेका छन्् । 

राष्ट्र एकीकरण र राजतन्त्र एकै होइन । राष्ट्र एकीकरणको नेतृत्व गरेकै कारण उसैका सन्तान दर सन्तानले मात्र राज्यको नेतृत्व अनन्तकालसम्म निःशर्त लिन पाउनुपर्छ भन्ने राजनीतिक वा राज्यको सिध्दान्त होइन । पृथ्वीनारायण शाहले लालमोहर लगाएर तिनका सन्तानका नाममा ‘बकस’ वा ‘बिर्ता’ तोकिदिएजस्तो मात्र होइन नेपाल । तर, बाइसे चौबिसे वा कबिला राज्यतर्फ फर्केर मात्र ‘मेरो पहिचान र मेरो स्वाभिमान’ कायम रहने हो भने थप तर्क वा उदाहरण दिन सकिन्छ– कमल थापा वा रविन्द्र मिश्रहरूसँग । हिजोको समयको चेतना र प्राथमिकता आज पनि उस्तै छ भनेर सोच्नु र त्यही अपेक्षा राख्नु मूर्खता मात्र हुन्छ । एकपछि अर्को स्वार्थका लागि शक्ति केन्द्रहरूले राजतन्त्रको प्रेतात्मालाई जगाउनेभन्दा पनि जनताका प्रतिनिधिको सर्वोच्चता रहेको संस्थामार्फत अगाडि बढ्न पूर्वराजा र राजावादी तयार हुनुपर्छ । देशको राजनीतिको जरो किलो हल्लाएर स्वार्थ समूहका लागि पानी धमिल्याउने र अपृय दुर्घटना हुनबाट बचाउने काम उनीहरूको पनि हो ।

पृथ्वीनारायण शाहले भनेका छन् – मेरा सानो दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । यसको अर्थ – यो देश मेरो दुःखले मात्र बनेको होइन अर्थात मेरो दुःख त के हो र ? मेरो दुःख त सानो वा सामान्य हो, यतिले मात्र यो मुलुक बनेको होइन तर ठूलो कुरा यो हो ‘सबै जातको फूलबारी हो’ अर्थात् सबै मिलेर बनाएको हो । सबै मिलेर सुरक्षा पनि गर्नुपर्छ ।
अन्त्यमा यो पनि, राष्ट्रकवि माधव घिमिरे लेख्छन्–

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ?
थुतिन्छ पत्ता जब खात खात
सिध्दियो शोभा अनि फूलबाट
बिलो लिएझैँ शरमा उनेर
यो राज्य बाँड्ने चिज हैन हेर । 

 

टिप्पणीहरू