दलै दलको दलदल

दलै दलको दलदल

जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्खरै एउटा आरोप लगाउनुभयो कि देशमा चार दलको तानाशाही छ । चारले चाहेपछि जे नहुने पनि हुने । संसदमा त धेरै दल छन् । तर अरू जम्मै दललाई एकातिर पन्छाएर चार दल मात्र मिलेपछि जे पनि हुने भएकोले उहाँले चार दललाई आरोप लगाएको हुनुपर्छ । 

तर देशको प्रमुख प्रतिपक्षी पार्टी एमाले त झन् देशमा यो चार पनि हुनु हुँदैन भन्ने मान्यता राख्छ । एमाले चाहन्छ कि देशमा चार दल होइन, दुई दल मात्र रहोस् । एउटा कांग्रेस दल, अर्को एमाले दल । अबचाहिँ दुई दल मात्र भए पुग्छ भन्ने एमालेको धारणा छ । एमालेलाई लाग्छ, यही धारणा देशको आवश्यकता हो । 

केही पूर्व पञ्च छन्, उनीहरू त झन् दुई दल पनि होइन, एक दल मात्र भए पुग्छ भन्ने विचार राख्छन् । एउटा देशमा एउटै मात्र दल । यो पो देशको आवश्यकता हो । 

अझ पूर्व राजा ज्ञानेन्द्र शाहलाई सोध्ने हो भने उहाँ त झन एउटा दल मात्र पनि होइन, दलै नभएको निर्दल चाहिन्छ भन्नुहुन्छ । दल भनेको दुइटा होस् वा चार वटा, झगडा त हुन्छ नै । बरु दलै भएन भने झगडा पनि भएन । यदि दलकै कारण देशमा समस्या आएको हो भने दल नै नभएको निर्दलै रोज्ने हो कि कसो त कमरेड ?
 

टिप्पणीहरू