जताततै डढेलो, सुख्खा हिउँदका कारण यो वर्ष भयावहको आकलन

जताततै डढेलो, सुख्खा हिउँदका कारण यो वर्ष भयावहको आकलन

केही दिनयता मुलुकका विभिन्न भागमा डढेलो तथा आगलागीको प्रकोप देखिएको छ । शनिबार मोरङको पथरी शनिश्वरे नगरपालिका–१, बुद्ध चोकस्थित कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोडभन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

सोही दिन मोरङकै रंगेली नगरपालिका–३, बाबु सहायक टोल बस्ने जंगली मुर्मुको गुवालीमा लागेको आगो फैलिँदा १९ वटा घर जलेर नष्ट भयो । आगलागीबाट २५ परिवार विस्थापित भएका छन् । भोजपुरको हतुवागढी गाउँपालिका–७, पिप्ले बस्ने केदार कार्कीको गोठमा पनि शनिबार साँझ आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ । आगलागीमा जलेर कार्कीका ५ वर्षीय छोरा प्रनिष, ७ वर्षीया छोरी दिपशिखा र ३ वर्षीय छोरा दिउनिसको निधन भएको छ । 

डढेलो वन जंगलमा लाग्ने घातक, अनावश्यक र अनियन्त्रित आगलागी हो । यो अन्य खालका आगलागीभन्दा भिन्न प्रकृतिको हुन्छ । विशाल आकार, उद्गम स्थानदेखि आगो फैलिने गति र दिशा परिवर्तन, सडक, नदी आदिलाई पार गरेर अगाडि बढ्न सक्ने क्षमता डढेलोमा हुन्छ । डढेलो लागेपछि वनका रुख, बिरुवा, जीव जनावरसहित मानवीय बस्ती समेत प्रभावित हुन्छन् । जहिल्यै सुख्खा मौसम सुरु भएसँगै डढेलो र आगलागीको जोखिम बढ्छ । 

यो वर्ष हिउँदमा कम पानी परेकाले सुख्खा बढी हुँदा प्रिमनसुनको सुरुवातमै डढेलो र आगलागीका घटना भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत १ गतेदेखि ५ गतेसम्म मात्र आगलागी र डढेलोका एक सय ८७ वटा घटना भएका छन् । 

त्यसबाट पाँच जनाको मृत्यु र १४ जना घाइते भएको प्राधिकरणले जनाएको छ । गर्मी बढेसँगै डढेलोका घटना बढ्न थाल्दा यसको नियन्त्रण अहिले मुख्य चुनौतीको रुपमा देखिएको छ । डढेलोका कारण एकातिर वन विनाश भइरहेको छ, अर्कोतिर बस्तीमा फैलिँदा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ । हिजो साँझ पोखरा नजिकैको सामुदायिक वनमा पनि भीषण डढेलो लागेको छ ।

मुलुकभर २२ हजारभन्दा बढी सामुदायिक वन रहेकोमा सोही संख्यामा कबुलियती र निजी वन छन् । गत वर्ष तीन हजार एक सय ४२ वनमा ठूलो आगलागी भएको थियो । त्यसमा परेर ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । सोही अवधिमा डढेलोमा सात जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए । 

त्यस्तै, डढेलो गाउँसम्म बिस्तार भई ४२ घर जलेका थिए । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा वर्षेनी दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । झण्डै ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना मानवीय लापरबाहीका कारण हुने गरेको पाइएको छ । नेपालमा फागुनदेखि वैशाखसम्मको समयमा डढेलोको उच्च जोखिम हुने गर्छ । 

वैशाख दोस्रो साता यो जोखिम उच्च स्थानमा पुग्छ । वन डढेर खरानी हुँदा मानवीय क्षतिसँगै वन्यजन्तुसमेत जोखिममा पर्ने गरेका छन् । यसबाट हुने जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, यसको रोकथामका लागि सरकारी कार्यक्रम प्रभावकारी छैन । डढेलो लाग्दा निभाउने उपकरण र व्यवस्थापनमा सरकारको अझै ध्यान पुगेको छैन । घटना हुनुपूर्व नै तयारीका लागि जुटनुपर्नेमा सरकारी निकायहरु घटना घटेपश्चात् मात्र तदारुकता देखाउँछन् ।  

संघ र प्रदेशले चासो दिएनन् : सामुदायिक वन उपभोक्ता महासंघ

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी डढेलो नियन्त्रणका लागि स्थानीय तहहरुले विभिन्न काम गर्दै आएपनि संघ र प्रदेशबाट अपेक्षाकृत काम नभएको गुनासो गर्छन् । 

उनले भने, ‘डढेलोका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । मानिसको ज्यान गुमेको छ । वन जंगल पनि विनाश भइरहेको छ । यसको नियन्त्रणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम गर्दै आएपनि संघ र प्रदेशबाट जति काम हुनुपर्ने थियो, त्यति भएको देखिँदैन ।’

डढेलो नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना, तालिम प्रदान र जनशाक्ति परिचालन गर्न आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ सरकारी निकायको ध्यान जान नसकेको समेत जनाए ।  

उनले डढेलो तथा आगलागी नियन्त्रणका लागि गैरसरकारी संस्थाहरु समेत लाग्न आवश्यक रहेको औंल्याए । ‘वन सबैको साझा सम्पत्ति हो । त्यसकारण यसको संरक्षणमा सरकारी निकाय मात्र होइन । गैरसरकारी संघसंस्था पनि लाग्नुपर्छ,’ उनले भने, ‘महासंघमा एक करोड ४० लाखभन्दा बढी उपभोक्ता आबद्ध छन् । उनीहरु सबैले वन संरक्षणका निम्ति जनचेतना फैलाउँदै आएका छन् । सँगै गैरसरकारी संघसंस्थाहरु पनि यसमा लाग्ने हो भने थप सहयोग हुनेछ ।’

अध्यक्ष भण्डारीले यस वर्ष डढेलोको जोखिम उच्च रहेको बताए । हिउँदमा पानी नपरेकाले डढेलोको सम्भावना उच्च भएको हो । डढेलो लाग्नुका विभिन्न कारणमा अधिकांश मानवीय त्रुटि र लापरबाही हुने गरेको पाइएको छ ।

‘वन्यजन्तुले दुःख दियो भनेर वनमा आगो लगाइदिने, चुरोट खाएर ठूटो जथाभावी फाल्नेजस्ता मानवीय गल्तीले नै डढेलोको प्रमुख कारण हो । अर्कोतर्फ सचेतना अभावका कारण पनि यस्तो गरिएको देखिन्छ । त्यसकारण हामीले सचेतना फैलाउने काम गर्दै आएका छौं । आगो लागेको ठाउँमा नजानुस्, चुरोट खाएर जथाभावी नफाल्न आग्रह गर्नुका साथै पर्चा बाँड्ने, तालिम दिनेलगायतका काम पनि महासंघबाट भइरहेको छ,’ उनले भने । 

मानवीय लापरबाही प्रमुख कारण 

विज्ञहरुका अनुसार डढेलोको प्रमुख कारण मानवीय लापरबाही हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना मानवीय लापरबाहीका कारण हुने गरेको बताउँछन् । 

कहिलेकाँही अन्जानमा आगो लगाउँदा बस्ती नै सखाप हुने गरेको उनी बताउँछन् । वनको आगो बस्तीमा आउन नदिन पाँचदेखि २० मिटरसम्मको सुरक्षा घेरा बनाउनुपर्ने उनले सुझाए । त्यस्तै, जंगल र बस्ती जोडिएका ठाउँमा सुख्खा पात पतिङ्गर हटाउँदा पनि क्षति कम हुन सक्ने उनको भनाइ छ । 

तीनै तहको सरकारसँग समन्वयको काम भइरहेको छ : प्राधिकरण 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङ डढेलो तथा आगलागी नियन्त्रणका लागि तीनै तहको सरकार (संघ, प्रदेश र स्थानीय तह) सँग समन्वयको काम भइरहेको बताउँछिन् । 

डढेलोको जोखिम कम गर्न जनचेतनाको अभियान सञ्चालन गर्न तथा अग्नि नियन्त्रक उपकरण तयारी अवस्थामा राख्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको उनले बताइन् । 

‘जोखिम कम गर्न सचेतनामूलक कार्यक्रमहरु आयोजना भइरहेका छन् । वन मन्त्रालयसँग पनि समन्वय भइराखेको छ । आगलागी वा डढेलो कम गर्ने उपाय अवलम्बन गर्न सामुदायिक वन उपभोक्ता महासंघलाई पनि आग्रह गरेका छौं,’ उनले भनिन् । 

गत वर्षको तुलनामा यो वर्ष वनमा आगो वा डढेलो लाग्ने जोखिम उच्च रहेको उल्लेख गर्दै उनले यस्ता अधिकांश घटनामा मानवीय हेलचेक्रयाईं प्रमुख कारण हुने गरेको समेत बताइन् । 

त्यस्तै, मानिसहरुले खेती नगर्दा, वन क्षेत्र वृद्धि तर व्यवस्थापन हुन नसक्दा पनि डढेलो र आगलागीका घटना बढेको उनको ठम्याई छ । ‘धेरै ठाउँमा खेती हुन छाडेको छ । यसबाट वन क्षेत्र विस्तार भएको छ । अहिले घर नजिकै वन आउन थालेको छ,’ प्रवक्ता चेम्जोङले भनिन् । 

यता, डढेलो तथा आगलागीपछि उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्ने, राहत वितरणजस्ता कार्यको पनि व्यवस्थापन भइरहेको उनको दाबी छ । ‘घटना नहोस् भन्ने नै हाम्रो चाहना हो । तर, घटना भएपछि उद्धारका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राख्ने कार्य अहिले भइरहेको छ । राहतसम्बन्धी पनि कार्य भइरहेको छ,’ उनले भनिन् ।

टिप्पणीहरू