भोजपुरी नायिकालाई लहानमा ‘रेड कार्पेट’ बिच्छाईंदै

भोजपुरी नायिकालाई लहानमा ‘रेड कार्पेट’ बिच्छाईंदै

भोजपुरी चलचित्र उद्योगकी चर्चित नायिका अक्षरा सिंह सिरहाको लहान आउने भएकी छन् । उनी लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० मा प्रस्तुतिका लागि समूहसहित सहभागी हुने बताइएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाले आयोजना गर्न लागेको लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० चैत ३० देखि २०८१ वैशाख १० गतेसम्म चल्ने छ । ‘समृद्धिको आधार, उद्योग, कृषि, पर्यटन र व्यापार’ भन्ने नाराकासाथ आयोजना गर्न लागिएको एक्स्पोमा भारत, पाकिस्तान, बगंगलादेशका कम्पनीहरूले आफ्ना उत्पादन राख्ने तयारी छ ।

एक्सपोमा विभिन्न कम्पनीका लागि करिब एक सय स्टल छुट्ट्याइएको छ । स्टलको भाडा १५ देखि ५० हजार रुपैयाँसम्म तोकिएको छ । संघका अध्यक्ष विकास शारडाका अनुसार एक्स्पो उद्घाटन उपप्रधान एवम् भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले गर्नेछन् । प्रस्तुतिका लागि अक्षरासँगै नेपाली कलाकारहरु प्रमोद खरेल, कमल खत्री, मेलिना राई, अनु चौधरी, धुर्मुस सुन्तली, प्रिती पासवान, रमेशराज भट्टराई, एलिना चौहानलगायत मोडलहरु हुनेछन् । 

लहान एक्स्पोको आम्दानी तथा खर्चलाई पारदर्शी बनाउनुपर्ने आवाज उठेको छ । अध्यक्ष शारडाले महोत्सव सम्पन्नपछि १० दिनभित्र सम्पूर्ण हिसाब सार्वजनिक गरिने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू