मेयर र हेडसरविरुद्ध विशेष अदालतमा मुद्दा

मेयर र हेडसरविरुद्ध विशेष अदालतमा मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचारमा तानिएका छन् । गैरकानूनी रुपमा सम्पत्ति आय आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । 

नगर प्रमुखको रुपमा २०७४ असोज ७ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले २०७९ माघ २९ गतेसम्मको सम्पत्ति विवरण जाँच गरेको बताइएको छ । सो क्रममा स्रोत नखुलेको वा गैरकानूनी रुपमा आर्जन गरेको पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ भेटिएको दाबी छ । 

अख्तियारका अनुसार उनले उक्त रकम विभिन्न क्षेत्रमा लगानी गरेको, श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ रामकुमार थापा र बुहारी द्वारिका राउतको नाममा राखेको पाइएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको सम्पत्ति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरिएको हो ।

आजै कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीसहित विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम उनीहरुको मिलेमतोमा नक्कली बिल भरपाई गरी हिनामिना गरिएको अख्तियारको आरोप छ । उनीहरुविरुद्ध तीन लाख ७७ हजार २६३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

टिप्पणीहरू