शेखरको क्षेत्रमा कांग्रेसका संकट

शेखरको क्षेत्रमा कांग्रेसका संकट
सुन्नुहोस्

कांग्रेस क्रियाशील सदस्य नवीकरणमा शेखर कोइरालाको निर्वाचन क्षेत्र अर्थात् मोरङ क्षेत्र नं ६ का सभापतिले प्रदेश समिति र नगर समितिलाई थाहा नै नदिई एकलौटी गर्न खोजेपछि सुन्दरहरैंचा नगरपालिकाका–२, ५ र ६ मा बवण्डर हुन थालेको छ । 

वडा तथा नगर समितिको अधिकार खोस्दै क्षेत्रीय सभापति देवराज तामाङले हस्तक्षेप गरेपछि वडा तहमा नै कांग्रेस–कांग्रेसबीच विवाद बढ्न थालेको छ । केही दिनअघि वडा नं ५ को कार्यक्रममा हानाहानको स्थिति सिर्जना भयो । आक्रोशित कांग्रेसीहरूले सभापतिको शैलीको विरोध गर्दै कुर्सी फालाफाल गरे । 

वडा नं २ को कार्यक्रममा तामाङलाई उपस्थित कार्यकर्ताले प्रश्न गरेका थिए । तामाङलाई वडा समितिका सदस्य तथा पदाधिकारीले के कांग्रेस सक्न आएको भन्दै कार्यक्रमबाट निकालेका थिए । 

यसबीच, सुन्दरहरैंचा नगरपालिका–६ मा १६८ जनाले क्रियाशील सदस्य लिएका छन्  । सोमबार भएको कार्यक्रममा १० जनाको मात्र उपस्थिति थियो । ६ नं वडाको कार्यक्रममा सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले क्षेत्रीय सभापति तामाङमाथि  प्रश्न गर्दै ‘ए साथी, एक्लै कहाँ पुग्छौ’ भन्ने प्रश्न गरेका थिए । 

विवादपश्चात् तामाङले शेखर कोइरालाको समेत फोन उठाउन छाडेको स्रोतको दाबी छ । तामाङको पछिल्लो समय देउवा पक्ष निकट केही व्यक्तिसँग उठबस बाक्लिएको छ । मोरङ क्षेत्र नं ६ शेखर कोइरालाको समेत क्षेत्र हो । कोइरालाले यही क्षेत्रबाट संघीय सांसदमा विजयी बनेका हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू