आमाहरुको अनुहार अनि उज्यालियो

आमाहरुको अनुहार अनि उज्यालियो
सुन्नुहोस्

धेरैका हातमा छ फूलको माला । कसै–कसैको हातमा पैसाको माला पनि । पंक्तिबद्ध भएर उभिएका महिलाको हँसिलो अनुहार । लाग्थ्यो ठूलै युद्ध जितेर विजयोत्सव मनाउन लागेझैँ । तर, यो कुनै विजय उत्सव थिएन । थियो त वर्षाैंको प्रतीक्षापछि बस सेवा सञ्चालन भएकोमा खुशी व्यक्त गर्न स्थानीय आमा समूहले गरेको एउटा कार्यक्रम ।

 प्रसंग हो रोल्पा नगरपालिका–५ वाजावाङको । कुनै बेला खुबै चलेको ठाउँ । यातायातको सुविधा नहुँदा घोराही हुँदै रोल्पा आउन हिँड्ने बाटो । दाङको घोराही जोड्ने सबभन्दा नजिकको दूरी भए पनि सधैँ ओझेलमा परेको । पूर्वी र पश्चिम रोल्पा हुँदै घोराहीसम्म मोटर चल्न थालेको दशकौँ भइसक्दा मध्यदक्षिण रोल्पाले दाङ अझै जोड्न सकेको छैन । यसको मुख्य कारण मध्यदक्षिणमा राजनैतिक पहुँच नहुनु मान्छन् यहाँका बासिन्दा । यही सडकको घोराही वाजावाङसम्म बस सेवा शुरु भएको छ । 

रोल्पा नगरपालिका उपप्रमुख गीता आचार्य र सडक पूर्वाधार कार्यालय प्रमुख इञ्जिनियर हेमन्त रोकाले रिबन काटेर बस सेवा उद्घाटन गरेका हुन् ।केही समयभित्रै रोल्पा सदरमुकामबाट घोराहीका लागि नियमित बस सेवा सञ्चालन हुने आचार्यको भनाइ छ । सडक पूर्वाधार कार्यालय रोल्पाको ५ लाख बजेट सहयोगमा घुम्ति सुधार र सडक सफाइ गरेसँगै बाजावाङ–घोराही बस सेवा सञ्चालन भएको हो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू