हाकिमहरू नै तेल चोरीमा धमाधम

हाकिमहरू नै तेल चोरीमा धमाधम

यसअघि पनि धेरैपटक इन्धन चोरीका घटनाको कारण सार्वजनिक भएपछि बदनाम भएको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा पुनः इन्धन चोरिएको छ । अवैध रुपमा भारतबाट सस्तोमा इन्धन बेची तस्करी गरिरहेको आरोप लागिरहँदा निगमको भैरहवास्थित भण्डारण ट्यांकबाट इन्धन चोरी भएको हो ।

कार्यालय प्रमुखको रुपमा पठाइएकी कमला न्यौपानेलाई यसमा दोषी देखाइएको छ । डिपोमा इञ्जिनियरिङ सेवातर्फ नवौं तहको कर्मचारी कार्यालय प्रमुख हुने व्यवस्था छ । तर, सुशासन विभागसमेत हेर्ने नायव कार्यकारी निर्देशक नागेन्द्र साह र प्रशासन विभागकी निर्देशक निर्मला आचार्यसमेतले न्यौपानेलाई त्यता पठाएको बताइन्छ ।  

डिपोबाट मासिक करोडौं रुपैयाँको इन्धन चोरेर बिक्री हुने गरेको स्रोतको दाबी छ । उच्च तापक्रमका कारण निगमले दिएको नोक्सानी सीमाभन्दा अत्यन्त न्यून परिमाणमा नोक्सानी हुँदा ठूलो परिमाणमा इन्धन नाफा देखिने गरेको छ । सोही नोक्सानी परिमाणको इन्धनमा निगमका उच्चपदस्थहरूको आँखा लाग्दै आएको हो । यसैका लागि सेटिङमा कार्यालय प्रमुख नियुक्ति गर्ने परम्परा छ । त्यस्तो इन्धन बिक्रीबाट आएको रकम भागबण्डा लगाउने गरिन्छ ।

इन्धन नापजाँच गर्ने कर्मचारीले उल्लेख गरेकोभन्दा परिमाण घटाएर लगबुकमा टिपाएपछि व्यवसायीलाई बेच्ने गरेको पाइएको छ । उक्त गैरकानुनी कार्यको भण्डाफोर गर्न मौकाको खोजीमा रहेका कर्मचारीले वैशाख २५ गते डिपोमा हुँदै आएका सबै घटना रेकर्ड गरेका छन् ।

नापजाँचमा उल्लेख गरिएको परिमाणमा पाँच हजार छ सय लिटर इन्धन घटाएपछि उक्त इन्धन ३७४१ नम्बरको ट्याङ्करधनी दामोदर खरेललाई बेचिएको थियो । ट्याङ्कर बिहान ९ बजेर ४५ मीनेटमा इन्धन बोकेर डिपोबाट बाहिरिएको प्रमाणसहित कर्मचारीहरूले कार्यकारी निर्देशक चण्डिका भट्टसमक्ष लिखित उजुरी हालेका छन् ।

गम्भीर प्रकृतिको घटना भएकाले उनले छानबिनका लागि अख्तियार र प्रहरी प्रशासनलाई पत्र लेख्न प्रशासन विभागका निर्देशक निर्मला आचार्यलाई निर्देशन दिएको बताइन्छ । भट्टले दिएको निर्देशन हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू