अध्यक्षमा दोहोरिन दीपकको दौड

अध्यक्षमा दोहोरिन दीपकको दौड

एमाले काठमाडौं जिल्ला कमिटीमा दोहोरिन दीपक निरौलाको दौड शुरु भएको छ । यसअघि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । 

२०७९ को स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काठमाडौंबाट राम्रो मतपरिणाम नआएपछि सदस्यहरूले उनको कार्यक्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । प्रतिनिधि सभामा काठमाडौंबाट १० उम्मेदवारमध्ये एमालेका एक जना मात्र निर्वाचित भए । निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल माननीय छन् । 

जबकि २०७४ मा एमाले ६ वटा क्षेत्रमा विजयी भएको थियो । त्यस्तै,  ११ स्थानीय पालिकामध्ये २ वटामा मात्र एमालेले जितेको छ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा मात्र एमालेका मेयर छन् । यता,  काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले पनि कमिटीको अध्यक्ष बन्ने इच्छा प्रकट गरेका छन् ।

यता अध्यक्ष केपी ओलीले भने काठमाडौंमा एमालेको हार स्वीकार्य नहुने उल्लेख गर्दै स्थिति बदल्न कमिटीहरूलाई निर्देशन दिएका छन् ।  राजधानीको इटुम्बहालमा सम्पन्न दोस्रो महानगरपालिका अधिवेशनमा पूर्वमन्त्रीद्वय रामेश्वर फुँयाल र आनन्द पोखरेलले उठाएका उम्मेदवार हारेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू