गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस कार्यकर्ता सडकमा

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस कार्यकर्ता सडकमा
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविनको माग गर्दै सदन अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस सडकमा ओर्लिएको छ । काँग्रेसले सत्ताको बलमिच्याई र सहकारी ठगीविरुद्ध भृकुटीमण्डपमा विरोधसभा गरेको हो । 

काठमाडौं जिल्ला सभापति सबुदकृष्ण बानियाँको सभापतित्वमा शुरु भएको सभामा महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद कुन्दनराज काफ्ले, प्रतिनिधिसभा सांसद राजन केसी, पूर्वउपसभामुख पुष्पा भुसाललगायत सहभागी छन् । 

त्यसअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली निकालिएको थियो । तरूण दलले रत्नपार्कस्थित शान्तिबाटीबाट जुलुस निकालेको थियो । अध्यक्ष विद्ध्वान गुरूङकाे नेतृत्वमा रहेको जुलुसमा कांग्रेस काठमाडौँका अध्यक्ष बानियाँलगायत साढे तीन सय हाराहारीमा सहभागी छन् । 

र्यालीका सहभागीहरुले 'सहकारी पीडितलाई न्याय दे', 'सहकारी बचतकर्ताको रकम फिर्ता गर'' 'सहकारीको रकम ठग्नेलाई कारबाही गर', 'सहकारी रकम ठगीविरुद्ध एक हौं', 'सहकारी ठग कहाँ छन् ? सिंहदरवारभित्र छन्', 'सहकारी ठगीको संसदीय छानविन समिति गठन गर', 'सहकारी ठग कहाँ छ ? जनतालाई थाहा छ।', 'जिबी राई कहाँ छ ? रविलाई थाहा छ', 'सहकारी ठग्न पाइदैन रवि गृहमन्त्री चाहिंदैन जस्ता नारा लगाए । 

उक्त र्यालीमा काठमाडौँ क्षेत्र नं ६ का महिला संघका कार्यकर्ता पनि मिसिएका थिए । कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका कांगेस कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

टिप्पणीहरू