छात्रवृत्तिको विवरण बुझाउन निजी स्कुललाई अन्तिम मौका

छात्रवृत्तिको विवरण बुझाउन निजी स्कुललाई अन्तिम मौका

काठमाडौ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयलाई बन्दसूचीमा राख्ने भएको छ । 

महानगरले आज सूचना प्रकाशित गर्दै सबै संस्थागत विद्यालयलाई तीन दिनभित्र विवरण बुझाउन अन्तिम मौका दिएको हो । अन्यथा, बन्द विद्यालयको अभिलेखमा राखी हदैसम्मको कारबाही गर्ने महानगरको चेतावनी छ । 

‘तोकिएको अवधिभित्र पनि माग भएको विवरण पेश नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगर्न नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकलाई सूचित गरिने छ,’ महानगरद्धारा जारी सूचनामा भनिएको छ । 

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, नियमावली, २०५०, काठमाडौं महानगर शिक्षा ऐन, २०७५ तथा शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ । 

महानगरले उक्त व्यवस्था कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दा चार सय ७३ वटा संस्थागत विद्यालयले मात्र विवरण बुझाएको जनाएको छ । 

चालु शैक्षिक सत्रका लागि ती विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।

जसअनुसार महानगरभित्रका ती संस्थागत विद्यालयमा विद्यार्थी संख्या एक लाख ४९ हजार नौं सय ५० जना रहेको छ । यसमध्येका १८ हजार चार सय २२ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

टिप्पणीहरू