बालेनको प्रयासमा १९ हजारलाई छात्रवृत्ति

बालेनको प्रयासमा १९ हजारलाई छात्रवृत्ति

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले यस वर्ष आफ्नो क्षेत्रमा सञ्चालित बोर्डिङ स्कुलका १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको बताएका छन् । 

महानगरको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा विद्यार्थीहरुले बोर्डिङ स्कुलमा छात्रवृत्ति पाएको उल्लेख गर्दै उनले एउटा कानुन कार्यान्वयन गर्दा यो उपलब्धि हाँसिल भएको जानकारी दिए । 'एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले स्कलरशिप पाएको छ', उनले फेसबुकमा लेखेका छन्। 

मेयर बालेनका अनुसार गत शैक्षिक सत्र २०८० मा महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । शैक्षिक सत्र २०८१ मा हिजोसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ । ती विद्यालयमा भर्ना भएका १ लाख ४९ हजार ९५६ विद्यार्थीमध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएको उनले बताएका छन् ।

'हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ', बालेनले भने । प्राप्त विवरणको अनुगमन गरि अन्यथा पाइएमा कानुन बमोजिम कारबाही गर्नेसमेत उनले स्पस्ट पारेका छन् ।

यता, महानगरले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई अन्तिम मौकासमेत दिएको छ । तोकिएको अवधिमा विवरण पेस नगर्ने विद्यालय 'बन्द विद्यालय'को रुपमा बुझी महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने महानगरको चेतावनी छ । 

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गरेकै कारण गत वर्ष १३ हजार र यसपटक करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने वातावरण बनेको बताउँदै बालेनले कानुन निर्माणको महत्व त्यसको कार्यान्वयनबाट मात्र पुष्टि हुनेसमेत बताए ।

टिप्पणीहरू