दलमा आबद्ध शिक्षकमाथि भएको कारबाही विवरण पठाउन आनाकानी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आबद्ध शिक्षक तथा कर्मचारीमाथिको कारबाही विवरण पठाउन पुनः ताकेता गरेको छ । केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई पुनः ताकेता गर्दै आगामी सात दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसअघि जेठ २ गते पनि सबै शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै केन्द्रले १५ दिनभित्र दलको कार्यकारिणी समिति सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गरेको विवरण पठाउन निर्देशन दिएको थियो ।
हालसम्म कुनै पनि इकाईबाट विवरण उपलब्ध नभएको केन्द्रले जनाएको छ । ‘इकाईहरुबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानूनबमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ सो विवरण यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र केन्द्रमा उपलब्ध गराउनु,’ पत्रमा भनिएको छ ।
केन्द्रले विद्यालय व्यवस्था समिति र शिक्षा विकास तथा समन्वय इकाईको स्वीकृति नलिई आफु बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् ? र तीमध्ये कति शिक्षकहरु पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् ? सोको पनि विवरण पठाउन भनिएको छ ।
टिप्पणीहरू