कमरेडहरूलाई कहाँ कहाँ कष्ट

कमरेडहरूलाई कहाँ कहाँ कष्ट

जता–जता हात, त्यतै–त्यतै बर्बाद छ, एमाले महासचिव शंकर पोखरेलको । विभिन्न जिल्लामा अधिवेशन भइरहेका छन् । जिल्लैपिच्छे महासचिवको रुचिका अध्यक्ष उम्मेदवार छन् । तर, हारेका हार्‍यै ! बाँकेका उपाध्यक्ष डिल्ली बिसीलाई अध्यक्षका रुपमा अगाडि सार्दा उनीभन्दा पुराना नेता निरक गुरुङसँग प्रतिस्पर्धा भयो ।

२ सय १९ मतका साथ निरकले जिते, डिल्लीले १ सय ५४ मत मात्र ल्याए । बर्दियामा शंकरका उम्मेदवार थिए, पुरानै जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ । उनी आफ्नै कमिटीका उपाध्यक्ष शालिकराम अधिकारीसँग १० मतको अन्तरमा पराजित भए । 

धादिङमा भूमि त्रिपाठीको बाटो छेक्नका लागि अधिवेशन स्थगित गराउनेदेखि अनेकन खेल चल्यो । डा.रामकुमार अधिकारीलाई अध्यक्ष बनाउने च्यासल मुख्यालयको जोड थियो । निर्वाचन हुँदा भूमिले ३ सय ९ र डा.अधिकारीले २ सय ३८ मत पाए । भूमिले प्रदेश अध्यक्षमा कृष्ण दाहाललाई सघाएको भन्दै शंकर रुष्ट थिए । उता कृष्ण दाहाल ‘माधवको मान्छे’ भन्ने हल्ला चलाउँदै उनीविरुद्धको माहोल बनाउन खोजियो । कहिल्यै पनि माधव नेपालतिर नलागेका कृष्ण दाहाल उपाध्यक्ष विष्णु पौडेलसँग भने नजिक मानिन्छन्  ।

सबभन्दा अचम्म त मकवानपुरमा भयो । एक वर्षअघि मात्रै एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छोडेर फर्र्किएका श्रीधर पोखरेलले एमालेको अध्यक्ष पद चुनाव जितेरै पाएका छन् । त्यहाँ देवराज रिमाललाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ भनेर शंकर पोखरेल अधिवेशनभन्दा तीन दिनअघि नै पुगेका थिए । 

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलदेखि जिल्ला इञ्चार्ज देवी ज्ञवालीसम्म इन्द्रमान स्याङ्तानलाई अध्यक्ष बनाउनेतिर लागे । कोहीकसैका नाममा सहमति भएन । तीनैजना उठे । महासचिवका उम्मेदवार देवराजले जम्मा ११ मत पाए । जे पर्ला–पर्ला भनेर उठेका श्रीधरले अन्तिममा डोरमणि पक्षको मत तान्दा ३ सय १३ मत पाएर जिते । पार्टीको संस्थापन भनिने बालकोट फ्याक्टरबाट उठाइएका इन्द्रमानले २ सय ६२ मतमा चित्त बुझाउनुपर्‍यो । 

कोशी प्रदेशमा पनि जिल्लापिच्छे नै फरक फरक गुटबीच चुनाव चल्यो । १४ मध्ये तीन जिल्लामा अधिवेशन हुन बाँकी छ । सुनसरीमा  अध्यक्ष जितेका निलम बस्नेतको दुई हप्तामै मृत्यु भएपछि अर्को अध्यक्ष बनाउनुपर्ने भएको छ । झापामा सप्ताह पुराणजस्तो, दुई दिनका लागि भनिएको अधिवेशनलाई सात दिन लम्ब्याएर सर्वसम्मत गरिएको छ । 

भोजपुरमा शेरधन राईपक्षीय प्यानलले नै जित्यो, कृपाशुर शेर्पापक्षका सबैले हारे । जित्ने अध्यक्ष मकर खड्का विद्यार्थी राजनीतिबाट आएका हुन् भने सचिव एक्सन राई पत्रकार महासंघको जिल्ला शाखाका अध्यक्ष छन् । संखुवासभाको अध्यक्षमा खड्ग राईसहित पदाधिकारी पनि सर्वसम्मत भए । उता, हर्क राईहरूले टिम नै बनाएका थिए । तर, नेचा सल्यान गाउँपालिकाको अध्यक्ष रहिसकेका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलासँगको प्रतिस्पर्धा जटिल हुने कारण अर्को पक्षले उम्मेदवारी दिएन । फलतः डुफसहित उनको प्यानल नै निर्विरोध भयो । 

ओखलढुंगामा प्रदेश सांसद अम्बिरबाबु गुरुङपक्षीय जिबी खड्काले जित्दा थोरै मतको अन्तरमा यज्ञराज सुनुवार पक्षका हर्कबोल राईले हारे । खोटाङमा विशाल भट्टराई पक्षका देवविक्रम राईभन्दा रामप्रसाद दंगाल १ सय ५२ मतले पछाडि परे । देवविक्रमले ३ सय ३९ र रामप्रसादले १ सय ८७ मत पाएका थिए । उदयपुरमा भागवत राउत र प्रमेश्वर घिमिरेबीच प्रतिस्पर्धा हुँदा भागवतले ३ सय ४४ मतका साथ जिते, प्रमेश्वरले २ सय ३० मत पाए । 

सुनसरीमा पार्टी सत्ताको प्रयोग गरेर क्यान्सर रोगले ग्रस्त निलमलाई अध्यक्षमा जिताइयो । बराह नगरपालिकाबाट मेयरको कार्यकाल सिध्याएर रोगकै कारण आराम गरिरहेका निलमलाई जिताउनका निम्ति पुराना नेता खेमराज पोखरेललाई हराइयो । उपाध्यक्षमा नन्द बस्नेत तीन मतले हारे । जितेका अध्यक्ष निलमको उपचार गर्न भारत जाँदा बाटैमा निधन भयो । अधिवेशन गर्न आयोजक कमिटीलाई पूर्ण कमिटी बनाएर सबैलाई प्रतिनिधि तोकियो । जनसंगठनमा पनि आफ्नो पक्षबाट ३० जनासम्म प्रतिनिधि बनाइँदा आफूपक्षीय नभएका संगठनबाट एक–दुईजनालाई मात्रै ल्याइयो ।

धनकुटामा शेरधनपक्षीय निरन तामाङले अध्यक्षमा हारे । त्यहाँ शिवहाङ राईको टिमले सयको हाराहारीमा जित्यो । तेह्रथुममा ६० प्रतिशत प्रतिनिधि भएपछि अधिवेशन स्थगित भयो । शेरधन पक्षको पार्टी नेतृत्वले प्रतिनिधि आफूअनुकूल नभएका कारण स्थगित गरेको बताइन्छ । पाँचथरमा आशारत्न जवेगुलाई शेरधनहरूले सर्वसम्मत बनाउन चाहेका थिए । उद्घाटन र बन्दसत्रमा त्यहीअनुसार भाषण नै गरियो । तर, आशा कार्यकर्ताको दबाबका कारण उम्मेदवार भइनन् ।

विमल सापकोटाको टिमले नै जित्यो । इलाममा अधिवेशन भएको छैन । महेश बस्नेत र गणेश बरालहरूको अलग अलग टिम छ । गणेशको टिमलाई शेरधनहरूले रुचाएका छन् । ताप्लेजुङमा योगेश भट्टराईले उठाएका सुरेश साम्सोहाङसहित सबैले हारे । मोरङमा आयोजक कमिटी नै पुनर्गठन गरी अधिवेशन अहिले नगर्ने भनिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू