मेयरले धपाउने, प्रधानमन्त्रीले पठाउने

मेयरले धपाउने, प्रधानमन्त्रीले पठाउने

लमजुङको राइनास नगरपालिकाका मेयर खड्कबहादुर गुरुङ औंठाछापजस्तै हुन् । उपमेयर पुष्पराज खनाल र हाकिम गोकर्णराज सुयल चलाख । खनाल माओवादी केन्द्रबाट विजयी ।

प्रमुख प्रशासकीय पनि उही पृष्ठभूमिका । काकतालीले मेयर भए पनि उपमेयरको खटनपटनमा हाकिमले डाडुपन्यूँ चलाएको गुरुङलाई चित्त नबुझेपछि बेंसीशहर नगरपालिकामा सरुवा गरिएको राइनासतिर चर्चा चल्दै थियो । उता प्रचण्ड प्रधानमन्त्री भएको छेको पारेर सुयल नगरपालिका नगई सहायक सिडिओ बनेर लमजुङ नै आइदिए । 

स्थानीयमा रसबस राम्रै बसे पनि बेसीशहर नपाका मेयर गुमानसिंह अर्याल अलि कडा, वरिष्ठ अधिवक्ता मात्रै नभएर थुप्रै हाकिमलाई चलाइसकेका । उनकोमा जो पायो उसले लप्पनछप्पन गर्न नसक्ने । मेयर, उपमेयरदेखि बहुमत वडा एमालेको पकडमा । निको नलाग्दा नलाग्दै पनि उनले जिल्ला प्रशासन र त्यसमा पनि लमजुङ नै रोजे । हाकिमहरूका लागि राम्रै गन्तव्य स्थल मानिन्छ लमजुङ । सुयल अघिका सहायक सिडिओ काजीमान सुनार, जगदीश मिश्र आँखाका नानी बनेर गए । केही दिनपहिले जिल्लाका एक रेडियोकर्मी पत्रकारलाई नागरिकता प्रमाणपत्रको विषयलाई लिएर जेल हाल्नेसम्म धम्की दिएका सुयललाई एमाले नेता तथा क्व्होलासोथर गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम घलेले एक सार्वजनिक कार्यक्रममै सातो टिपे ।

कार्यक्रम थियो लमजुङ दर्पण दैनिक पत्रिकाको ११ औँ वार्षिकी । प्रमुख अतिथि थिए एमाले उपमहासचिव तथा लमजुङका संघीय संसद पृथ्वीसुब्बा गुरुङ । जिल्लाभित्रका कार्यालय प्रमुख, व्यवसायी, दलका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित सो कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीतले ‘लमजुङको समृद्धिका लागि पर्यटन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैमा टेकेर बोल्ने वक्ताले आफ्नो विचार तथा शुभकामना दिँदै थिए ।

एमाले गण्डकी प्रदेश सदस्य तथा ग्रामीण पर्यटन व्यवस्थापन समिति सार्क भिलेजको रूपमा परिचित घलेगाउँका अध्यक्ष प्रेम घलेले । पर्यटनको क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरेपश्चात् शुभकामना मन्तव्य राख्ने क्रममा सुयलले सो कुराको खण्डन हुने गरी ग्रामीण पर्यटन भनिए पनि घरेलु उत्पादन खासै केही नभएको, मूल्य अत्यधिक भएको, एकपटक आउने पर्यटक फेरि सम्झेर नआउने गरेको, घले गाउँभन्दा भुजुङ ठीक भन्ने गरेको बताए ।

उत्निखेरै घले झम्टिए– सेतो नम्बर प्लेट भएको गाडी चढेर आउने मान्छेहरू फ्रीमा खान–बस्न खोज्ने, तरुनी खोज्ने, रक्सी सित्तै माग्ने अनि घलेगाउँको कुरा काट्ने ? के पाएन तपाईंले तरुनी कि रक्सी ? सहायक सिडिओको कुरा खासै नाजायज थिएन तर कमरेड पड्किन थाले । सभाहलमा एकछिन सन्नाटा छायो । सुयल लुसुक्क बाहिरिए । 

तर, प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङले सुयललाई बल पुग्ने गरी मन्तव्य राखे । उनले पर्यटकीय सुधार गर्न नसकेको भन्दै लोकल उत्पादनको सट्टा तराईबाट आयातीत वस्तुमा निर्भर रहेकाले गाउँमै उत्पादन बढाउन आग्रह गरे ।

– अञ्जनकुमार 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू