सडकमा जसलाई पानीसमेत पिउन दिइन्न

सडकमा जसलाई पानीसमेत पिउन दिइन्न

मुलुकभर अहिले उखारमाउलो गर्मी छ । चार्काे तापका कारण जनजीवन प्रभावित छ । काठमाडौं उपत्यकाको गर्मी ३२ डिग्री सेल्सियसमाथि पुगेको छ । बिहान–बेलुका खासै प्रभाव नपरे पनि दिउँसो घरबाट बाहिर निस्किन गाह्रो छ । टन्टलापुर घामले गर्दा पंखामुनि पनि पसिना–पसिना हुने स्थिति छ । धुँवाधुलोले गर्दा सर्वसाधारणलाई सास फेर्न समस्या छ । 

सर्वसाधारणलाई घरभित्रै बस्न समस्या परिरहेको बेला सडकमा खटिएका ट्राफिक र नगर प्रहरीको हालत के होला ? यस्तो गर्मीमा उनीहरूले कसरी ड्युटी गरिरहेका होलान् ? सरोकारवाला निकायले सोच्नुपर्ने अवस्था छ । बाटो हिँड्ने, गाडी चलाउनेलाई ट्राफिकको काम सजिलो लाग्न सक्छ । कतिपयले सडकमा उभिएर ‘सिठ्ठी बजाउने’ त होसम्म भन्न भ्याउला । 

तर, उनीहरूले खेपेको हैरानीबारे कसैले कल्पनासमेत गर्न सक्दैन । जिम्मेवारी निर्वाह गर्ने क्रममा उनीहरूले धेरै सास्ती पाएका छन् । काठमाडौं उपत्यकाका सडकमा दैनिक लाखौं सवारी साधन गुड्छन् । यत्रो सवारी साधनलाई व्यवस्थित गर्दै बटुवालाई वारपार गराउनु कम्ती चुनौतीपूर्ण छैन । झन् ‘पिक आवर’ मा हम्मेहम्मे पर्छ । 

सडकमा ‘ठिंग’ उभिएर दुई हात हल्लाउँदै र सिठ्ठी फुक्दै उनीहरू दिनभर ड्युटी गर्छन् । परेको बेला सडकमा गाडी ठेल्नुपर्छ । दुर्घटना हुँदा सवारी हटाएर बाटो खोल्ने, डिभाइडर राख्ने–झिक्ने, सडक अवरोध हटाउनेलगायत काम उनीहरुकै हो । सरकारले सबैतिर समान गतिमा बल्ने ‘लाइट’ व्यवस्थापन गर्न सकेको छैन । सडकमा उभिने प्रहरीका धेरै समस्या छन् । सबैभन्दा महत्वपूर्ण समस्या पानीको अभाव हो । यता, शौचालयको पनि व्यवस्थापन छैन । शौचालय नहुँदा पानी नपिईकन ड्युटी गर्ने बाध्यता छ । शौचालय जान होटल या रेष्टुरेण्ट खोज्नुपर्ने बाध्यता छ ।

मास्क  दिए पनि लगाउन सक्ने स्थिति छैन । एकातिर गर्मी, अर्कोतिर सिठ्ठी फुकेर सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता । राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि अत्याधुनिक प्रविधिको ट्राफिक लाइट जडान गरिएको छ । सो सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले आफ्नै सिपाही खटाएको छ । लाइट त गर्मीले पग्लिने बेला न छाता, न ओत, न पानी अनि बाक्लो पोसाक । 

झन् सबैभन्दा बढी सवारी चाप हुने ठाउँमा आँखा झिम्काउनेसमेत फुर्सद पाउँदैनन् । छोटो ग्याप, धेरै ट्राफिक लाइट कोटेश्वर, सातदोबाटो, ग्वार्को, माइतीघर, बानेश्वर, शान्तिनगरलगायतका स्थानमा एकछिन ट्राफिक नबस्ने हो भने सवारी अस्तव्यस्त हुन थाल्छ । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिकलाई महिनावारी बिदा दिने निर्णय गर्नुको साटो आवश्यक स्रोत साधन जुटाउन पहल गरेको भए धेरैलाई राहत हुने अधिकांशको भनाइ छ । 

काठमाडौं महानगरपालिकाका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले ड्युटीमा खटाइएका ट्राफिकलाई पानीको व्यवस्थापन गर्न नसकिएको स्वीकारे । हाल बबरमहलमा मात्र ट्राफिक खटाइएको बताउँदै उनले प्यास लागेमा आफैँँले पानी किनेर खानुपर्ने बताए । उनका अनुसार उनीहरूलाई पालैपालो आठ घण्टाको ड्युटी दिइएको छ । 

पहिले जारको व्यवस्थापन गरिन्थ्योः हाछेथु 

हाल ललितपुर महानगरपालिकाको सुरक्षा प्रमुख रहेका ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम हाँछेथुले ट्राफिकको समस्या समाधानमा सरकारले चासो नदेखाएकोमा दुःखेसो पोखे । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई अपहेलना गरिरहेको उनको गुनासो छ । ट्राफिकलाई चाहिने स्वास्थ्य सुरक्षाका साधनदेखि लिएर पानीसम्मको व्यवस्थापन गर्नु गृहको जिम्मेवारी भएको उनी बताउँछन् । 

तर, यसतर्फ गृह संवेदनशील नबनेको उनले गुनासो गरे । ट्राफिक कार्यालयसँग बजेट नहुने भएकाले पानीको व्यवस्थापन गर्न अप्ठेरो परेको उनको भनाइ छ । ‘पहिले–पहिले हामीले जारको व्यवस्थापन गथ्र्याैं । अहिले त्यो देखिएको छैन । ट्राफिक कार्यालयसँग यो सबैको व्यवस्थापन गर्न पर्याप्त बजेट हुँदैन । यसतर्फ गृह मन्त्रालयले ध्यान दिनुपर्ने हो । कम से कम पानी खुवाउने व्यवस्थापनचाँहि गर्नुपर्ने हो’, उनले भने । गर्मीका कारण ट्राफिकको टाउको, खुट्टा र छाती सबैभन्दा धेरै ‘हिट’ हुने उनको भनाइ छ । जसले गर्दा स्वास्थ्यमा समस्या देखिरहेको हाछेथु बताउँछन् । 

भन्छन्, ‘गर्मी अत्यधिक बढेको छ । त्यसमाथि ट्राफिकले फुल ड्रेस लगाएका हुन्छन् । बुटले ट्राफिकको खुट्टा तातिरहेको हुन्छ । अनि क्यापले टाउको । सडकमा उभिएर घाममा ड्युटी गर्दा छाती पनि हिट हुन्छ । सरकारले उनीहरूको ड्युटी समय मिलाउनुपर्छ । दुई–दुई घण्टा मिलाइदियो भने त्यति गाह्रो हुँदैन । सर्ट पनि हाफ बाउला बनाइदिँदा ठीक हुन्छ ।’

आफ्नै पैसाले पानी किनेर पिउँछौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तिर्खा लागे आफैँंले पानी किनेर पिउनुपर्ने बताए । सरकारबाट तलब र राशनबाहेक ट्राफिक प्रहरीले केही पनि नपाउने उनको भनाइ छ । ‘ट्राफिकले पाउने तलब र राशन मात्र हो । अफिसमा हुँदा मात्र पानी पाइन्छ । ड्युटी गर्न जाँदा तिर्खा लागे आफ्नै पैसाले किन्नुपर्छ । पानी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले सक्दैन । गृह मन्त्रालयले गर्नुपर्छ’, उनले भने ।
 

टिप्पणीहरू