गाह्रो पर्दै गयो त्यसपछि गोकुललाई

गाह्रो पर्दै गयो त्यसपछि गोकुललाई

बहुचर्चित टेरामक्स छानबिन प्रकरण एकाएक किन रोकियो ? कांग्रेसहरू मात्रै तानिने भनिएको यसमा एमालेको कुन फ्याक्टर हावी छ ? जनआस्थाले यसको तथ्य फेला पारेको छ ।

पार्टी अध्यक्ष केपी ओली मानिसका कमजोरीलाई अँठ्याएर खेल्न माहिर मानिनुहुन्छ, जुन कुरा गोकुल बाँस्कोटाहरूलाई थाहा मात्रै छैन, आफैं त्यस्तो घानमा परिएला भन्ने त्रास पनि उत्तिकै छ । यसै कारण केपीबाट जोगिनका लागि गोकुलहरूले अन्तिममा बाटो बदल्ने स्थिति आयो । किनभने, टेरामक्स प्रकरणमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेतसँगै एमालेका गोकुल बाँस्कोटाको पनि निर्णयगत संलग्नता छ ।

दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिष्टम (टेरामक्स) खरिदका क्रममा अर्बौं रुपैयाँको अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको थियो । यसक्रममा मुद्दाको अंग पूरा गर्न बयान लिने काम गरिन्छ । अख्तियारले मुख्यसचिवसहित आरोपित पूर्वमन्त्रीहरूसँग बयान लिने काम पनि भयो । अन्तिम निर्णयमा संलग्नसँग बयान लिनु भनेको मुद्दा बुझाउनुअघिको प्रक्रिया हो ।

ललिता निवास प्रकरणमा पनि मुद्दा बुझाउनुअघि माधव नेपाल र डा. बाबुराम भट्टराईसँग घरमै पुगेर बयान लिइएको थियो । तर, कांग्रेस कोटामा अख्तियारको आयुक्त भएका जयबहादुर चन्दसँगै एमालेबाट राष्ट्रिय सभा सदस्य रहिसकेकी सुमित्रा अमात्यको एउटै स्वर छ, ‘टेरामक्स मुद्दामा मन्त्रीहरूलाई केही गर्नु हुँदैन ।’ यसको कारण हो, गोकुलको संलग्नता । नत्र, कांग्रेस खुइल्याउँदा आफ्नो राजनीतिक अभिष्ट पूरा हुने स्थितिमा कांग्रेसका दुई– दुई जना प्रभावशाली नेता सीधै मुछिने मुद्दालाई एमालेसमेतको जोडबलमा थन्क्याइएको त्यत्तिकै होइन ।

गम्भीर चारित्रिक प्रकरणमा मुछिएका महेश बस्नेत, ऐन महरहरूलाई अन्तिममा हात थामिदिएर जोगाउनुभएका अध्यक्ष ओलीले पैसा नखाए पनि फाइलमा गोकुल चुकेको देखिएपछि त्यही गर्नुभएको बुझिएको छ । महिनौँसम्म बालकोट छिर्न नपाएका गोकुलले गत हप्ता अध्यक्षसँग भेट्ने अवसर पाउनु, छोराको बिरामी र आफ्नो आर्थिक अवस्था दर्शाउँदै सहयोग माग्ने परिस्थिति आउनु र अस्ति सोमबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रमै गाली खानु सानो संयोग हो ।  

उता, युवा नेता ऐन महरसँग जोडिएकी महिला मानसिक रुपमा अत्यन्तै विक्षिप्त भएकी छन् । बालकोटमै बोलाएर दुईबीचको कुरा मिलाउने ओलीको प्रयास कार्यान्वयन भएन । ऐनले उन्मुक्ति पाए, पार्टी कामका निम्ति बझाङ पनि पुगे । तर, पीडित महिलाले न्याय पाइनन् । न्याय पाउने बाटोसमेत ओलीको दबाबमा अवरुद्ध भएपछि अब हुलाकमार्फत जबरजस्ती करणीको मुद्दा प्रहरीमा  दर्ता गर्ने तयारी हुँदै छ ।

गोकुल मुछिएको टेरामक्सले उनलाई केसम्म ग¥यो भन्ने कुरा पार्टीको बागमती प्रदेश अधिवेशनको नाटकीय बदलावबाट बुझ्न सकिन्छ । अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदा गोकुल शुरुदेखि नै दाहालको पक्षमा थिए । तर, ओलीका भित्रियाहरू कैलाशलाई बनाउनुपर्छ भन्नेतिर गए । गोकुलले २१ वटा बैठकमा कृष्ण दाहाल भनिरहे, तर २२ औं बैठकसम्म पुग्दा कैलाशको नाम लिए । र, उनैले चुनाव जिते । काभ्रेकी भक्तकुमारी लामालाई उपसचिव स्वीकार गरेका कारण अन्तिममा कैलाशलाई समर्थन गरेको गोकुलको जिकिर थियो । यो लडाइँमा धादिङका भूमि त्रिपाठी लगातार कृष्णकै पक्षमा थिए । त्यसको बदलास्वरुप जिल्ला अधिवेशनबाट अध्यक्षमा पराजित गर्ने खेल चल्यो ।

शंकर र विष्णु रिमाललाई ‘हाइटेक’, अर्थात् माथि माथि सम्बन्ध राख्ने र आफूहरूलाई ‘भुइँटेक’, अर्थात् जमिनको कार्यकर्ता भन्ने गोकुल बागमती प्रदेशको चुनावी प्रतिस्पर्धामा एकाएक शंकर र विष्णुहरूले रुचाएका कैलाशको पक्षमा आउनुका पछाडिको कारण फरक छ । गोकुलले पञ्चायतकालमा राजाले अञ्चलाधीश खटाएजस्तो पार्टीको उपरी संरचनाले एकाएक नेताहरूलाई फरक फरक जिल्लामा इञ्चार्ज बनाएको विषयमा असहमति जनाउँदै आएका थिए र यस्तो काममा ‘हाइटेक’ हरूको भूमिका भएको भन्थे । एकाएक गोकुलको मुखबाट ‘हाइटेक’ र ‘भुइँटेक’ मात्रै हराएन, बागमती प्रदेशमा नाटकीय शैलीमा कृष्ण दाहाललाई गरेको समर्थन कैलाशलाई गर्नुपर्ने स्थिति आइलाग्यो । कारण बताइन्छ, टेरामक्स ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू