चुच्चे नक्सावालाहरू चकित

चुच्चे नक्सावालाहरू चकित

सीमाक्षेत्रको आवश्यकता र विकासबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर माग राख्न खोजेका व्यासका जनप्रतिनिधिलाई बालकोटले समय दिएको छैन । नयाँ बजेटमा टिंकर सडक निर्माणलगायत विषय प्राथमिकतामा नपरेको भन्दै व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी र वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले अध्यक्षलाई भेट्न खोजेका थिए । 

गत हप्ता राजधानी पुग्दा बालकोटको पिएले समय व्यवस्थापन गर्न नसकिने जवाफ दिएको स्रोतले बतायो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षको टोलीले ४ पटक सम्पर्क गरी अध्यक्ष ओलीसँग भेटघाटको अवसर मिलाउन अनुरोध गरेको थियो । तर, ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले केही दिनसम्म भेटघाट हुन सम्भव नभएको जवाफ दिएपछि जनप्रतिनिधिहरू निराश बनेका छन् । 

काठमाडौं पुगे पनि अध्यक्ष ओलीसँग भेट सम्भव नभएपछि गत हप्ता तिनले रक्षामन्त्री र गृहमन्त्रीसँग छुट्टाछुट्टै भेट गरेका छन् । टिंकर सडक निर्माणमा पर्याप्त बजेट विनियोजन, कौवाक्षेत्रमा बिओपी स्थापना, टिंकर नाका वैधानिक रूपमा सञ्चालनलगायत माग राखिएको अशोकसिंह बोहराले बताउनुभयो । 

चुच्चे नक्साको भूगोलका जनप्रतिनिधि भएकाले अध्यक्ष ओलीबाट माग सम्बोधन हुने आश थियो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू