मनसुन लाग्दा कुन कुन बोर्डरमा महात्रास ?

मनसुन लाग्दा कुन कुन बोर्डरमा महात्रास ?

मनसुन नभित्रिएसम्म उखरमाउलो गर्मी हुने तराई क्षेत्रका बासिन्दालाई पानी पर्न थालेपछि अर्कै त्रासले सताउने गरेको छ । विशेषगरी भारतीय सीमा क्षेत्रका बासिन्दा दश गजासँग जोडेर पारीतर्फ जबर्जस्ती बनाइएका ब्यारेज, बाँध, तटबन्ध, जोर्ती बाँध, चक्र बाँध, जलबन्धनका कारण हुने डुबान सम्झेर असारदेखि नै त्रस्त हुने गरेका छन् ।

भारतले नेपाली भूमि डुबान हुनेगरी एकपक्षीय हिसाबले १६ वटा त्यस्ता बाँध बनाएको छ । ती तटबन्धका कारण वर्षायाममा नेपालको आठ हजार २०० हेक्टर क्षेत्रफल भूमि डुब्ने गरेको छ । हिउँदमा पनि एक हजार ८८० हेक्टर नेपाली भूमि भारतीय बाँधले डुबाउँदै आएको छ ।

उताको तटबन्ध र बाँधका कारण भारतसँग सीमा जोडिएका १६ जिल्ला प्रभावित छन् । भारतले सबैभन्दा पहिले कपिलवस्तुसँग जोडिएको सीमानामा महलीसागर ब्यारेज बनाएको थियो । १९५७ मा निर्मित पाँच ढोके ब्यारेजलाई २०६६ देखि १५ वटा ढोकामा पुर्‍याइएको हो । उक्त बाँधले नेपालतर्फ वर्षामा ५०५ र हिउँदमा ११५ हेक्टर खेतीयोग्य जमिन डुबाउँदै आएको छ ।

नवलपरासीको गण्डक ब्यारेजका कारण वर्षा याममा ३४ हेक्टर भूमि नष्ट हुन्छ । २०२१ सालमा बनेको उक्त ब्यारेजका ३६ ढोका छन् । २०२२ सालमा कोशी ब्यारेज बन्दा ५६ वटा ढोका राखिए जसबाट वर्षामा सुनसरी र सप्तरीका ७० हेक्टर भूमि डुब्ने गरेको छ । त्यसपछि बन्यो रौतहटको बैरगनियामा चक्रबाँध । स्थानीयको १५ हेक्टर जमिन जलमग्न बनाउने सो बाँध १६ ढोके छ ।

बर्दिया र कैलालीलाई असर पार्ने अर्को ब्यारेक कैलाशपुरी हो । ३५ ढोके उक्त ब्यारेजले वर्षामा १०१० र हिउँदमा ६६ हेक्टर खेतीयोग्य जमिनलाई जलमग्न बनाइदिन्छ । बाँकेसँगैको लक्ष्मणपुर ब्यारेजमा १४ ढोका छ । २०४२ सालमा बनाइएको उक्त ब्यारेजले नेपाली किसानको खेतीयोग्य जग्गा वर्षामा दुई हजार २४५ हेक्टर र हिउँदमा एक हजार ४०० हेक्टर काम नलाग्ने बनाइदिन्छ । त्यस्तै सोही साल बनाइएको बाँकेको लक्ष्मणपुर ब्यारेजमा १४ ढोका छन् । यसले वर्षामा दुई हजार २४५ हेक्टर र हिउँदमा एक हजार ४०० हेक्टर जमिनलाई डुबानमा परिणत गरिदिन्छ ।

सर्लाहीको ८ किलोमिटर लामो बागमती तटबन्धका कारण वर्षायाममा १० हेक्टर भूमि डुब्ने गरेको छ । मोरङको चार सय मीटर लामो लुना (बक्राहा) जलबन्धन २०४८ सालमा भारतले बनाएको हो । यसबाट वर्षामा ८४० हेक्टर  जमिन डुब्ने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।

उता, रूपन्देहीस्थित २० किलोमिटर लामो रसियावाल–खुर्द लोटन जोर्तिबाँधको १७ किलोमिटर भाग बनाउन बाँकी छ । भारतले ३५ ढोका डिजाइन गरेको बाँधको निर्माण २०५६ मा थालिए पनि २०५९ देखि स्थगित छ । अहिले पनि त्यहाँ नेपालतर्फको जमिन वर्षामा एक हजार ४०० र हिउँमा ३५ हेक्टर डुब्ने गरेको छ । रौतहटको आठ किलोमिटर लामो लालबकैया तटबन्धका कारण वर्षामा ५० हेक्टर भूमि जलमग्न हुन्छ । यो २०६० सालमा बनाइएको बाँध हो । दाङको कोइलाबास बाँधका चार ढोका छन्् । २०६१ सालमा निर्मित यो बाँधका कारण वर्षामा २० र हिउँदमा ७ हेक्टर भूमि खेती गर्न मिल्दैन । 

रूपन्देहीसङ्ग जोडिएको डण्डा फरेना तटबन्ध तीन किलोमिटर लामो छ । यसबाट पनि वर्षायाममा ६७ र हिउँदमा ६ हेक्टर भूमि सँधै जलमग्न हुन्छ । धनुषासँग जोडिएको कमला र सिरहा तटबन्धका कारण वर्षा याममा क्रमशः २७ र ४७ हेक्टर जमिन नेपालतर्फ डुबानमा पर्ने गरेका छन् । यी बाँध क्रमशः ३० र ४ किलोमीटर लामो छन् । एउटा तटबन्ध २०६३ र अर्को २०६६ सालमा भारतले एकपक्षीय ढंगले बनाएको हो ।

सप्तरीको खाँडो कुनौली जलबन्धनले सप्तरीको जग्गा वर्षायाममा ७१० हेक्टर र हिउँदमा ७ हेक्टर डुबाउँदै आएको छ । ३१० मीटर लामो उक्त तटबन्धमध्ये खाँडो २०५४ सालमा र कुनौली २०४२ मा बनाइएको हो । उता कञ्चनपुरदेखि झापासम्म छुनेगरी भारतले सतह उठाएर बनाएको ७३० र २७ नम्बरको एक हजार ७५० किलोमिटर लामो राजमार्गले नेपालतर्फको खेतीयोग्य जमिन वर्षामा एक हजार १५० र हिउँदमा २३० रेक्टर डुबाएको देखिन्छ । यो राजमार्ग २०६६ देखि नै निर्माण भइरहेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू