कालापानी जोड्न १/१ लाख देलान् त सबैले ?

कालापानी जोड्न १/१ लाख देलान् त सबैले ?

नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगरेपछि दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरूसंग अपिल गरिएको छ ।

जेठ १५ गते ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डको लागि ९ करोड रूपैयाँ मात्र बजेट छुट्याइएको छ । ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म १३ किलोमिटर मात्रै खनिएको छ । पर्याप्त बजेट विनियोजनको माग पटक–पटक गरिए पनि सरकारले संबोधन नगरेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । 

असार ८ गते सम्पन्न १६औं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा टिंकर सडक निर्माणका लागि देशभरिका स्थानीय सरकारसँग आर्थिक सहयोगको अपिल गर्ने निर्णय भएको छ । ‘संघीय सरकारले पर्याप्त बजेट नछुट्याएको अवस्थामा यसको महत्व र आवश्यकता उजागर गर्न स्थानीय सरकार अग्रसर भएको छ’ गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले भन्नुभयो ।उहाँले भन्नुभयो– ‘हरेक स्थानीय सरकारले कम्तिमा १ लाख रूपैयाँ आर्थिक योगदान गर्दा पनि साढे ७ करोड संकलन हुने अवस्था छ ।’

गाउँपालिकाले टिंकर सडक निर्माणका लागि ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । देशभरका स्थानीय सरकारबाट प्राप्त हुने रकमसंगै खर्च गरिने तयारी छ । सेनामार्फत निर्माण भइरहेको टिंकर सडकमा ०८०÷८१ मा १४ करोड १९ लाख रूपैयाँ बजेट दिइएको छ । यो बजेटबाट ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने काम भइरहेको छ । यो वर्षसम्म १३ किमि सडक निर्माण भइसक्ने सेनाले जनाएको छ । 

सडक निर्माणका लागि पर्याप्ट बजेट उपलब्ध नहुँदा १० वर्षभित्र निर्माण गर्ने लक्ष्य लम्बिएर दोब्बर समय लाग्ने अवस्था छ । ‘प्रधानमन्त्री, विभागीय मन्त्रीहरू, दलका शीर्ष नेताहरू सबैलाई भेटेर माग राख्यौं, लिखित अनुरोध पनि गर्‍यौं तर बजेटमा न्याय पाइएन’ व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुवँरको भनाइ छ । 

स्थानीय सरकारसँगै सातवटै प्रदेश सरकारसँग पनि टिंकर सडक निर्माणमा सहयोग माग्ने गाउँपालिकाको तयारी छ । गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भन्नुभयो– देशभरिका ७ सय ६१ वटै सरकारको सहकार्य र सामूहिक योगदानमा अहिलेसम्म कुनै पनि विकास निर्माण थालिएको छैन, टिंकर सडक निर्माणमा यस्तो नमुना र उदाहरणीय अभ्यास गर्ने हाम्रो प्रस्ताव हो ।’

व्यास गाउँपालिकाको ६ वटै वडाका अधिकांश बस्ती जोडेर टिंकर सडक निर्माण हुँदैछ । हालसम्म वडा नम्बर ३, ४, ५ र ६ को भूगोलमा ट्रयाक निर्माण खोलिएको छ । वडा नम्बर १ र २ को क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ । महाकाली नदीको किनारैकिनार निर्माण हुने सडक निर्माण कठिन भूगोल, कडा चट्टान र अन्तर्राष्ट्रिय सीमाक्षेत्रका कारण चुनौतीपूर्ण छ । 

अतिक्रमित नेपाली भूमि नजिकका अन्तिम बस्तीहरू छाङरु र तिंकर गाउँ जोड्ने गरी सडक निर्माण हुनेछ । त्रिदेशीय सीमाक्षेत्रमा निर्माण हुने र पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनको ढोका खोल्ने भएकाले पनि यो सडक निर्माणलाई व्यास गाउँपालिकाले उच्च महत्व दिएको अध्यक्ष मंगलसिंह धामीको भनाइ छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू