बोलेर मात्र हुँदैन भन्दै रास्वपाका नेताले घण्टी छाडे धमाधम

बोलेर मात्र हुँदैन भन्दै रास्वपाका नेताले घण्टी छाडे धमाधम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी छोडेका छन् । आसन र भाषणमा मात्रै रमाउन सकिएन भन्दै उनले फेसबुकमा लेखेर पार्टी परित्यागको घोषाण गरेका हुन् । 

सुवेदीले हिजो साँझ फेसबुकमा लेखेको स्टाटसमा अब उप्रान्त रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारिएको छ । साथै उनले पदमा रहँदाको अवधिमा कुनै कमजोरी नगरेको तर अञ्जानमा गल्ति भएको भए माफी गरिदिन आग्रह गरेका छन् । 

‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउन चाहन्छु- सुवेदीले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजग रहेँ,तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु ।’

रास्वपाले अपेक्षित काम गर्न नसकेको घुमाउरो स्वीकारोक्ति गरेका उनी थप लेख्छन्- मेरो बुझाई र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ,त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।' 

आफूसंग आशा गर्नेहरुको पनि गुनासो सुन्नुबाहेक केही गर्न नसकेको सुवेदीले भनेका छन् । यो नै आफ्नो सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गरेका उनले कमजोरी बोकेर पार्टीको नेता बन्न नचाहेको बताए ।

व्यतिगत प्रगति र उन्नतिको लागि पार्टी प्रयोग गर्नु सबैभन्दा ठूलो बेइमानी हुने भन्दै उनले देश फेर्नका लागि स्वयं व्यक्ति पनि फेरिन आवश्यक रहेकोमा जोड दिएका छन् । 

तर, फरक देखिएर र बोल्न सिकेर मात्र नहुने र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नुपर्ने उनको भनाइ छ । ‘फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ,’ सुवेदीले फेसबुकमा लेखेका छन् ।

सभापति रवि लामिछाने सहकारी ठगी, दोहोरो राहदानीलगायत विभिन्न काण्डमा मुछिएपछि पछिल्लो समय रास्वपामा नेता-कार्यकर्ताले पार्टी छोड्नेक्रम बढेको छ । 

यसअघि नेपाल प्रहरीका पूर्वडीआइजीसमेत रहेका नेता रमेश खरेल रास्वपाबाट बाहिरिएका थिए । सहकारी प्रकरणमा मुछिएका रवि 'स्वार्थको द्धन्द' बाझिने गरी गृहमन्त्री बनेकोप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका उनी अघिल्लो उपचुनावमा घन्टीको उम्मेदवार भइ बारा-२ बाट उठेका थिए । 

त्यसअघि चितवनका सभापति धर्मेन्द्र सापकोटाले पनि उक्त पार्टी छोडेका थिए । पार्टीभित्र केहि व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै उनले ०७९ सालमै रास्वपा छोडेका हुन् । 

चितवनस्थित पार्टी कार्यालयका सीईओ हेमन्त बराल पनि रास्वपा छोड्नेमा पर्छन् । एक वर्षका लागि नियुक्त भएका उनले असन्तुष्टि जनाउँदै ९ महिनामै उक्त जिम्मेवारी छोडेका हुन् ।

टिप्पणीहरू