सबै श्रेणीहरू

गुप्तचरका कर्मचारीको दरबन्दी रोल्पा, मान्छे सँधै काठमाण्डौ

गुप्तचरका कर्मचारीको दरबन्दी रोल्पा, मान्छे सँधै काठमाण्डौ

हाकिम दाहिने भएपछि अरुको केही लाग्दैन भन्ने उखान गुप्तचर अर्थात राष्ट्रिय अनुसन्धान विभागमा लागू भएको छ । विभागीय प्रमुख हुतराज थापाका एकपछि अर्को अचम्मलाग्दा निर्णयबारे गत साता बालकोटमा राम्रै चर्चा भएको थियो ।

हवल्दार पवित्रा केसीको दरबन्दी रोल्पामा छ । तर उनले डेढ वर्षदेखि राजधानीमा बसेर तलब भत्ता बुझेको देखिन्छ । असन्तुष्ट कर्मचारीहरु भन्छन्, ‘माओवादीको ठूला मान्छेका छोराको साली भन्दैमा त्यसो गर्ने हो भने कामचाहिँ  कसले गर्ने ? प्रमुख हुतराजको आशिर्वादमा काठमाडौं बसेर आरामले तलब पकाउन पाइने भएपछि अरुले ज्यान फालेर किन घोट्टिने ?’

उक्त कार्यमा विभागको रोल्पा कार्यालयका हाकिम कुशल थापा मगरले हुतराजलाई साथ दिएका छन् । कुशलले महिना कटेपछि अरुलाई झैँ उनलाई पनि काठमाडौंमा नै तलब पठाउने गरेको बताइन्छ । 

"प्रशासन विभागमा कार्यरत महिला हवल्दार खुसुक्क अष्ट्रेलिया पुगेकी छन् ।"

विभागका एकजना डिएसपीले भने, ‘यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस्ता बेथिति कति छन् कति । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासमा लिएकाले अरु कसैले आफ्ना विरुद्ध रौं पनि हल्लाउन नसक्ने भन्दै प्रमुख थापाले कार्यालयका अनौपचारिक बैठकमा सुनाउने गर्दछन् ।’

घनिष्ठताको पराकाष्ठा डिएसपी दिपक केसीसँगको सम्बन्धलाई पनि ठानिएको छ । उनले चिफलाई खानपिनको समयमा ‘अरे यार’ भनेको सुन्नेहरु थुप्रै छन् ।

अनुसन्धानको प्रशासन विभागमा कार्यरत महिला हवल्दार खुसुक्क अष्ट्रेलिया पुगेकी छन् । त्यसलाई पनि थापासँग जोडेर ‘दालमे कुछ काला’ भन्ने हाकिमहरु बग्रेल्ती देखिए ।