पाथीभरामा भक्तजनले चढाए साढे २० लाख भेटी

पाथीभरामा भक्तजनले चढाए साढे २० लाख भेटी
सुन्नुहोस्

मुलुककै प्रसिद्ध तीर्थस्थलमध्येको एक ताप्लेजुङको पाथीभरा मन्दिरमा गत असार महिनामा साढे २० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले भेटीका रुपमा पछिल्लो एक महिनामा उक्त रकम चढाएका हुन् ।  

पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा दुई हजार सात सय ५६ जना तीर्थयात्री पाथीभरा पुगेका थिए । उनीहरुले भेटीस्वरुप २० लाख ४४ हजार नौ सय रुपैयाँ चढाएका हुन् ।

संकलित भेटी नेपाल बैंक र एनएमबी बैंकमा जम्मा गरिएको छ । एक महिनामा १२ पटक संकलन गरिएको रकममध्ये दुई पटक एनएमबी बैंकमा र १० पटक नेपाल बैंकमा जम्मा गरिएको हो ।

समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्ने क्रममा समितिले गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना दर्शनार्थीले मन्दिर दर्शन गरेको जनाएको छ ।

वि.संं. २०५० सम्म त्यहाँ जाने तीर्थयात्रीको संख्या निकै कम थियो । ताप्लेजुङमा यातायात सुविधा सहज हुन थालेसँगै भक्तजनको संख्या बढेको हो । २०६७–०६८ मा ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे र भालुगौंडे काफ्लेपाटीसम्म कच्ची सडक बनेको र भालुगौंडे, काफ्लेपाटी, ठूलोफेदीमा होटल सुविधा बढेपछि तीर्थालुहरुको संख्यामा बढोत्तरी आएको पाथीभरा संरक्षण तथा सम्बद्र्धन समितिका सदस्यहरु बताउँछन् । 

यता पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले पहिलेको तुलनामा सुविधा बढेकाले तीर्थयात्रीहरुको चाप बढेको उल्लेख गरे । उनी भन्छन्, ‘अन्य सुविधामा सुधार ल्याउन सके तीर्थयात्री झन् बढ्ने निश्चित छ ।’

टिप्पणीहरू