सौर्यको जहाज हिजो दुर्घटना,पोहोर कर्मचारी निश्कासित

सौर्यको जहाज हिजो दुर्घटना,पोहोर कर्मचारी निश्कासित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान एकदमै दुःखद् घटना भयो । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाए । क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । 

काठमाडौंबाट पोखराका लागि उडेको सौर्यको नाइन एन–एएमई कलसाइनको विमान उड्नेबित्तिकै खसेको थियो । ‘सि चेक’ का लागि पोखरा जान लागेको जहाज रन–वेबाट बाहिर बजारिँदा ह्वारह्वारती बल्यो । विमानमा सवार १९ मध्ये १८ जनाको घटनास्थलमै मृत्यु भयो । 

दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एअरका प्राविधिक कर्मचारी र पारिवारिक सदस्य हुन् । अमित महर्जन,सागर आचार्य, दिलिप बर्मा,मणुराज शर्मा, आश्विन निरौला,सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, आरिफ रेडाको ज्यान गएको छ । 

दुर्घटनाग्रस्त जहाज कन्टेनरमा ठोक्किएका कारण बस्ती जोगिएको र थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार सौर्य कोरोना महामारीदेखि आर्थिक समस्यामा थियो । सन् २०१४ देखि सञ्चालनमा आएको सौर्यलाई आन्तरिक खर्चसमेत धान्न धौ–धौ परेको स्रोतको भनाइ छ । 

सौर्यले गत वर्ष कर्मचारी पनि कटौती गरेको थियो । कोरोना महामारीबाट पर्यटन उद्योगले समस्या भोग्नुपरेको र त्यसको असर आन्तरिक उडान गर्ने एअरलाई पनि परेको भन्दै सौर्यले कर्मचारी निकालेको हो । एकै सिफ्टका कर्मचारीले भ्याउनेगरी अधिकांश कर्मचारी हटाइयो । सौर्यले सञ्चालन गर्ने एअरक्राफट सिआरजे–२०० ले अन्य वायुयानभन्दा दुई गुणा बढी इन्धन खपत गर्ने भएकाले कम्पनीले लामो समयदेखि घाटा व्यहोर्दै आएको थियो । 

सौर्यको कर्मचारी तथा प्रशासन विभागले २०८० जेठ १० गते कर्मचारीहरुलाई पठाएको पत्रमा भनिएको छ,‘विश्वव्यापी महामारी कोभिड–१९ को समयमा र त्यसपश्चात् पर्यटन उद्योगले भोग्नुपरेको अभूतपूर्व क्षतिको भागिदार नेपालमा रहेका डोमेस्टिक एअरलाइन्सहरु पनि हुन पुगे । त्यसको लगत्तै पछाडि रसिया तथा युक्रेनको युद्धले बढाएको अभूतपूर्व इन्धनको मूल्यको बढोत्तरीले प्रत्येक एअरलाइन्सको आर्थिक अवस्थालाई नउठ्नेगरी थला पारेको छ । यस एअरलाइन्सले सञ्चालन गर्दै आएको एअरक्राफ्ट सिआरजे–२०० अन्य वायुयान सञ्चालकहरुले सञ्चालन गर्ने वायुयानले खपत गर्ने इन्धनभन्दा दुई गुणा बढी भएका कारणले यस कम्पनीले विगत १.५ वर्षदेखि आर्थिक नोक्सानी व्यहोर्दै आएको छ ।’

त्यस्तै, कम्पनीले आफ्ना जहाज बेच्न खोजेको पनि पत्रमार्फत कर्मचारीलाई जानकारी गराएको थियो । ‘यस एअरलाइन्सले टर्बो प्रोप वायुयान एटीआर–७२–५०० भित्र्याउन तथा भइरहेका वायुयान बेचबिखन गर्न केही समय लाग्ने भएकोले एटीआर–७२–५०० वायुयान नभित्र्याउन्जेलसम्म नागरिक उड्डयन ऐन, २०५३ को अधिनमा रही तथा सेफ्टी स्ट्याण्डर्डलाई बरकरार राख्दै कम्पनी मितव्ययी ढंगबाट सञ्चालन गर्न निर्णय गरेका छौं’,कम्पनीले भनेको छ,‘सोही अनुरुप यस कम्पनीको उडान तालिका एकै सिफ्टका कर्मचारीले भ्याउनेगरी बनाई आंशिक कर्मचारीहरुलाई प्रचलित ऐन (श्रम ऐन २०७४) को दफा १४५ लाई टेकी कटौती गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

सौर्यले तीन करोडभन्दा बढी बक्यौता तिर्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले केही वर्षअगाडि नियमित उडान बन्द गरेको थियो ।

टिप्पणीहरू