बोर्डबाट बिदा भए भुवन, एक दर्जन विदेश भ्रमणबारे मौन

बोर्डबाट बिदा भए भुवन, एक दर्जन विदेश भ्रमणबारे मौन

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरेका छन् । आज बोर्डको अध्यक्षबाट बिदा हुँदै गर्दा उनले दुई वर्षमा गरेका कामकाजको फेहरिस्त सुनाए । 

त्यसक्रममा बोर्डको क्षेत्राधिकार साँघुरो भएको जनाउँदै उनले भने,  ‘केही गर्नुपर्छ भनेर म बोर्डको अध्यक्ष बनेँ, तर यहाँ आएर थाहा भयो कि विकास बोर्डमा थोरैमात्रै अधिकार रहेछ ।’

केसीले सरकारको आँखामा चलचित्र क्षेत्र अझै नपरेको गुनासो पनि गरे । ‘यस क्षेत्रका लागि सरकारले चाहिँ के गर्‍यो त ?', भने, 'नेपाली चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान शून्य छ ।'  

केसीले आफ्नो दुई वर्षे कार्यकालमा सिर्जना भएका विवादहरुबारे भने कुनै प्रष्टीकरण दिएनन् । ०७९ असार पहिलो साता बोर्डको अध्यक्ष नियुक्त भएयता उनी अनेक विवादमा मुछिएका छन् । 

पहिलो त, उनको नियुक्ति नै विवादमा पर्यो । बोर्ड अध्यक्ष हुन स्नातक उत्तिर्ण तथा उच्च नैतिक चरित्र हुनुपर्ने प्रावधान छ । तर, केसीको योग्यता भने प्लस टु मात्रै हो । 

त्यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि चलचित्र ‘ड्रिम्स’को छायांकनको क्रममा यौन दुव्र्यवहार गरेको आरोप केसीमाथि लागेको थियो । यसैलाई लिएर उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटसमेत परेको थियो । 

त्यस्तै, चलचित्रहरुको बक्स अफिस कलेक्शन, सेन्सर, चलचित्र क्षेत्रको नाम चयन, विदेशमा हुने महोत्सव र अनावश्यक बजेट विनियोजन गरेको भन्दै केसी चर्को आलोचनामा परेका थिए । प्रेमिका जिया केसीसँग कार्यकक्षमै रोमान्स गरेको, सरकारी गाडी दुरुपयोग लगायतका विषयमा उनी विवादमा तानिए । प्रगति विवरण सुनाउँदा विवादका यी विषयमा भने उनी बोलेनन् । 

२४ महिनाको कार्यकालमा केसी १२ पटक अध्यक्षको हैसियतमा विदेश भ्रमणमा गएको विषय पनि विवादमा परेको थियो । अस्ति मंगलबार (साउन ८ गते) कार्यकाल सकिदै गर्दा पनि उनी लण्डनमा थिए । हिजोमात्र नेपाल फर्केका हुन् । 

बाेर्ड अध्यक्षबाट केसी पदमुक्त भएसँगै नयाँ नेतृत्वकाे लागि विभिन्न कलाकारहरूले दाैडधुप गरिरहेका छन् । दिनेश डिसी वा करिष्मा मानन्धरमध्ये एक जनाले नेतृत्व हात पार्न सक्ने सिनेवृतमा चर्चा छ । यी दुवै जना एमालेनिकट मानिन्छन् ।

टिप्पणीहरू