पौने तीन खर्ब लगानी स्वीकृत

पौने तीन खर्ब लगानी स्वीकृत

गत आर्थिक वर्ष २०८०÷०८१ मा पौने तीन खर्ब लगानी स्वीकृत भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आज गत वर्षको कार्यसम्पादन प्रतिवेदन पेश गर्दै उक्त जानकारी गराएका हुन् । 

उनका अनुसार गत वर्ष ९ वटा परियोजनामा दुई खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरुप जेठ २२ गते अरुण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथु’ भएपश्चात् परियोजनाको जेनेरेशनतर्फ ७५ प्रतिशतबढी निर्माण कार्य सम्पन्न भएको पनि उनले बताए। 

त्यस्तै, ट्रान्समिशन लाइनतर्फ ३८ दशमलब २१ प्रतिशत निर्माण कार्य भएको र सो कार्यलाई जेनेरेशनतर्फको प्रगतिसँग तादात्म्यता हुने गरी सहजीकरण भइरहेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्डबाट परियोजना विकास र सहजीकरणलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योर, परियोजना समन्वय समिति गठन गरिएको पनि बताए । 

परियोजना प्रगतिको डिजिटल अनुगमन गर्ने गरी प्रोजेक्ट मोनिटोरिङ युनिट ड्यास बोर्ड तथा प्रोजक्ट मोनिटोरिङ टुल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उनले बोर्डमार्फत हुने सेवा प्रवाहलाई सहजीकरण गर्न प्रणाली र प्रक्रियाको अटोमेशन गरिएको समेत जानकारी गराए । 

साथै, नेपालमा लगानीको वातावरणलाई थप सुदृढ गर्न विभिन्न आठ वटा ऐनमा संशोधन गरिनुका साथै सार्वजनिक–निजी साझेदारी नीति, २०८१ को मस्यौदासमेत तयार पारिएको बोर्डले जनाएको छ ।

टिप्पणीहरू